विकासका लागि सरकारको ‘गेम चेन्जर’ लक्ष्य १८ योजनामा २५ खर्ब रुपैयाँ लगानी

२० फाल्गुन २०७६, मंगलवार ११:०१

काठमाडौं – सरकारले विभिन्न १८ वटा रूपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रूपान्तरणकारी आयोजना स्वीकृत गरेको हो ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आयोगको बैठक राखेर ती आयोजना स्वीकृत गराएका हुन् । यस्ता आयोजनामा लगानी प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन, भौतिक पूर्वाधार, जलविद्युत्, पर्यटन र गरिबी तथा असमानता न्यूनीकरणलगायत महत्वपूर्ण कार्यक्रम छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले यी योजनाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले योजना कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन दिए । उनले योजना अवधिमा सञ्चालन गरिने विकासका गतिविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि भई उल्लेख्य मात्रामा रोजगारी सिर्जना हुने र विद्यमान गरिबीको दरमा कमी आउने यथार्थलाई आयोजनाले आत्मसात् गर्नुपर्ने बताए । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले राष्ट्रिय गौरवमा नपरेका तर कतिपय राष्ट्रिय गौरवका योजनाभन्दा महत्वपूर्ण आयोजनालाई रूपान्तरणकारी आयोजनामा समावेश गरिएको बताए ।

उनले पूर्वाधार विकास मात्र नभएर सामाजिक विकासका कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण भएकाले समाज रूपान्तरणका लागि रूपान्तरणकारी योजना स्वीकृत गरिएको जानकारी दिए । आयोगका उपाध्यक्ष कँडेलले सरकारले कतिपय राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्न नसकेको भए पनि समाजको विकास, समृद्धि र सुखको आधार निर्माण गर्न रूपान्तरणकारी आयोजना महत्वपूर्ण हुने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न २५ वर्षीय दीर्घकालीन सोचसहितको १५औं योजनाको विस्तृत दस्तावेजमा समावेश गरिएका कार्यक्रमअनुसार नै गेम चेन्जर योजना बनाइएको कँडेलले जानकारी दिए ।

आयोगले कुल गार्हस्थ्य उत्पादनमा कम्तीमा शून्य दशमलव ५ प्रतिशत योगदान दिने, विषय क्षेत्रगत प्रमुख लक्ष्यमा कम्तीमा २० प्रतिशत योगदान दिन सक्ने, कम्तीमा ४० हजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कार्यान्वयन चरणमा कम्तीमा १० लाख तथा परियोजना सम्पन्न भएपछि २० लाख जनसंख्या लाभान्वित हुने, विषय क्षेत्रगत र प्रादेशिक सन्तुलन कायम भएका परियोजनालाई रूपान्तरणकारी आयोजनामा समावेश गरेको हो ।

आयोगले राष्ट्रिय गौरवका आयोजनामा २२ वटा आयोजना र उच्च प्राथमिकता प्राप्त आयोजनामा १ सय १७ आयोजनालाई १५औं योजनामा समावेश गरेको छ । समृद्धिको आधार निर्माण गर्ने, नागरिकलाई थप परिष्कृत र मर्यादित जीवनयापनको अनुभूति गराउने र देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्ने लक्ष्य १५औं योजनामा समेटिएको छ । सरकारले तोकेका राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजना र उच्च प्राथमिकतामा राखिएका आयोजनालाई कार्यान्वयन गर्न लागेको हो । सरकारले करिब ९२ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ ।

आयोगले लगानीको व्यवस्थापन सार्वजनिक, निजी तथा सहकारी क्षेत्रबाट गर्ने योजना बनाएको छ । आयोगले यसअघि नै कार्यान्वयनमा ल्याइएका २२ वटा राष्ट्रिय गौरवका आयोजना, १८ वटा नयाँ रूपान्तरणकारी आयोजना र १ सय ७७ वटा उच्च प्राथमिकता प्राप्त आयोजनासहित नयाँ योजना स्वीकृत गरेको हो ।

यसैगरी, आयोगले आगामी ५ वर्षमा १ हजार ५ सय ९५ अमेरिकी डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य लिएको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४७ अमेरिकी डलर छ । अहिले १८ प्रतिशत रहेको निरपेक्ष गरिबी एकल बिन्दुमा ल्याउने लक्ष्य राखिएको छ । सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा आगामी २५ वर्षमा पूरा हुने गरी यो योजनालाई त्यसको आधार मानिएको छ ।

आयोगले समृद्धि र सुखको आधार निर्माण गर्ने रणनीतिक र बृहत् प्रभाव पार्ने खालका आयोजनालाई अहिले रूपान्तरणकारी आयोजनाका रूपमा अघि बढाएको हो । यस्ता आयोजना खासगरी आर्थिक वृद्धिको पथ परिवर्तन गर्ने आयोजनाहरू भएको आयोगले जनाएको छ ।

Next Post

महिला उत्पीडनको जाँतो तोड्न संघर्षले सार्थक तुल्याउँछ !

२० फाल्गुन २०७६, मंगलवार ११:०१
पार्वती  सिँह – आजको दिन महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाइ महत्त्वपूर्ण दिन मान्ने गरिएको छ । महिला अधिकार, महिला स्वाभिमानको रुपमा विश्वभर स्थापित छ । सन १९१० मा कोपेनहेगेनमा महिलाहरुको नेतृत्वमा महिला माथीको विभेद अन्त्यका लागि समान रुपमा कामको समान ज्याला, महिला समानता र सम्मानलाई संस्थागत गर्नका लागि ८ […]