सुर्खेत – कर्णाली प्रदेशमा सरकार बनाउने र फाल्ने होडबाजी चलिरहेको छ । सरकार बनाउने र मन्त्री बन्ने दरो प्रतिस्पर्धाको होडबाजी चलेको हो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सरकार बनेको तिन महिनापछि पुनः सरकार फेरिएको छ ।
सरकारको अस्थिरताले कर्णालीमा विकास हुन सकेको छैन । प्रदेश सरकारले कर्णाली उपब्धिमुलक काम देखिन गरि हालसम्म नगरेको नागरिकको गुनासो छ । नेपाली कांग्रेस र नेकपा माओवादीले पुनः सत्ता समिकरण गरेका छन् । यस अघि नेकपा एमालेका तिनजना मन्त्रीले राजिनामा दिएसँगै दलका नेताले सरकारबाट समर्थन फिता लिएका थिए ।
कर्णाली प्रदेशमा नवनियुक्त चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाएका हुन् ।
नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन् । यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको रूपमा शपथ लिएकी छिन् ।