मुख्यमन्‍त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२५ आश्विन २०७७, आईतवार १६:५५

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कै १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय बन्दै गएको र मुख्यमन्त्रीले पार्टीको भावनाअनुसार काम गर्न नसकेको भन्दै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका छन् । नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका धर्मराज रेग्मीले बताए । कर्णाली प्रदेशमामा नेकपाका ३३ जना सांसद छन् । जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद रहेका छन् ।

                       

३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । जसमा नेकपाका बहुमत सांसदले प्रस्ताव दर्ता गराएका हुन् । प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ । प्रदेश सभामा ४० जना सांसद छन् । जसमध्ये नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन् ।

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा केन्द्रको सहमति अनुसार कर्णालीमा तत्कालिन माओवादीले मुख्यमन्त्री पाएको थियो । त्यसयता कर्णालीमा तत्कालिन एमालेका सांसदहरु असन्तुष्ट थिए । कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् । यस्तै साविक माओवादीका १३ जना सांसद छन् ।
तर, अविश्वासको प्रस्तावमा साविक माओवादीका सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

आफूहरुले संसदीय दलको विधान अनुसार प्रस्ताव दर्ता गरेकाले अब प्रक्रिया अनुसार यसको टुंगो लगाउनुपर्ने सांसद शुसील थापाले बताए । दलका नेताविरुद्ध अविस्वास दर्ता भएकाले अब प्रमुख सचेतकले दलको बैठक बसाल्नुपर्ने हुन्छ सांसदहरुले बताएका छन् । कर्णालीमा अहिले संसद अधिवेशन चलिरहेको छैन ।

Next Post

४८ घण्टाभित्र धुम्बाराही आइपुग्न मुख्यमन्त्रीसहित पाँच जनालाई कडा निर्देशन

२५ आश्विन २०७७, आईतवार १६:५५
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णाली प्रदेशका पाँच नेतालाई ४८ घण्टाभित्र काठमाडौं आइपुग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा  भएको छलफलपछि दुई अध्यक्षले प्रदेशमा चरम बिवाद गर्ने दुवै पक्षलाई ४८ घण्टा अर्थात असोज २९ गतेभित्र काठमाडौं आउन […]