काठमाडौं – सरकारले सुकुम्बासीहरूको जस्ताको टहरामा डोजर चलाइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दर्जनौं सांसदले सरकारी जग्गा कब्जा गरेर घर बनाएको पाइएको छ । एकपछि अर्को सांसदहरूको घर सरकारी जग्गामा भेटिएको छ । रास्वपा सांसद केपी खनाल, खड्गराज पौडेल , ज्ञानेन्द्रसिंह महताको घर सरकारी जग्गामा छ । अर्का सांसदको घर पनि सरकारी जग्गामै फेला परेको छ । रास्वपा समानुपातिक सांसद तारा बिकको ललितपुरको गोदावरी नगरपालिका–३, फूलचोकीस्थित खहरे खोला छेउमा पक्की घर छ । खोलाको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा उनी परिवारसहित बस्दै आएकी छिन् । उनको वडा नम्बर २ मा पनि घरजग्गा छ ।
त्यहाँ आफ्नो घरजग्गा हुँदाहुँदै उनको परिवारले वडा नम्बर ३ स्थित सरकारी जग्गा लिएको हो । प्राप्त जानकारीअनुसार, त्यहाँ १५० जना वास्तविक सुकुम्बासी छन् । त्यसैगरी, अव्यवस्थित बसोबासी पनि सयौं छन् तर उनी कुनैमा पर्दिनन् । वडाध्यक्ष राज घिमिरेका अनुसार १५२ जनालाई लालपुर्जा दिने प्रक्रिया अगाडि बढिसकेको छ ।

‘उहाँको घर मेरै वडामा हो । सुकुम्बासी बस्तीभित्र उहाँको घर पर्छ । सुकुम्बासीहरू बस्दै आएको सरकारी जग्गामा उहाँको घर छ । तर, उहाँहरू यहाँको बासिन्दाचाँहि होइन, वडा नम्बर २ मा घरजग्गा छ । वर्षौंदेखि उहाँहरू यहाँ बस्दै आउनुभएको छ’,उनले भने । खोला मापदण्डभित्र संरचना भत्काइने वडाध्यक्ष घिमिरेले बताए । अगाडि थपे, सिडिओसाबले अस्ति हेरेर जानुभएको थियो । खोला मापदण्डभित्र पर्ने संरचना भत्काइन्छ ।’
यता, स्थानीयले समेत उनको घर भत्काउन माग गरेका छन् । एक स्थानीय भन्छन्, ‘रास्वपा सरकारलाई आफ्नै सांसदहरूको घर सरकारी जग्गामा छ भन्ने थाहा भएन । अहिले आफ्नै सांसदको घर सरकारी जग्गामा भेटिइरहेको छ । जनताको भत्काउँदा उनीहरूको नभत्काउने भन्ने कुरै हुँदैन ।’ यता, सांसद बिकले आफ्नो घर सरकारी जग्गामा परेको भए भत्काइने बताइन् । जनआस्थासँग भनिन्, ‘म बिहे गरेर यहाँ आएकी हुँ । यदि सरकारी जग्गामा रहेछ भने भत्काइन्छ । हामी आफैँ भत्काउँछौं ।’

