बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा बेइजिङमा छन् । हिजो औपचारिक स्वागत,भेटवार्ता, राजकीय रात्रिभोज र केही स्थानको घुमघाम गरेका छन् । आज भ्रमण पूरा गरेर स्वदेश फर्कंदै छन् । राष्ट्रपतिको भ्रमण टोलीमा डेढ दर्जनको संख्यामा अमेरिकी ठूला कम्पनीका मालिक, प्रमुख कार्यकारी र डलर अर्बपतिहरु छन् । उक्त टोलीमा रहेका धनाढ्य एलन मस्कले सँगै ल्याएका लिटिल एक्सको नामले विश्वविख्यात ६ वर्षीय छोरा अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

फोटो – सामाजिक सञ्जाल ।
सामाजिक सञ्जालमा हालिएका भिडियो र तस्बिरहरूमा लिटिल एक्स बेइजिङका उच्चस्तरीय बैठकमा ड्र्यागन आकारको सानो ब्याग बोकेर पुगेको देखिन्छ । कतिपय क्लिपमा उनी ट्रम्पको टोलीसँग हिँडिरहेका र चिनियाँ पोशाकमा देखिएका कारण इन्टरनेटमा व्यापक चर्चा भएको हो ।
चीन भ्रमणमा ट्रम्पसँगै मस्क,टिम कुक जेनसेन हुआङ जस्ता अमेरिकी सूचना प्रविधि क्षेत्रका चर्चित व्यक्तिहरु पनि सहभागी छन् । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले “लिटिल एक्सले सबैको ध्यान खिचे” को प्रतिक्रिया दिएका छन् । यसअघि पनि ट्रम्प दोस्रो पटक राष्ट्रपति निर्वाचित लगत्तै ती बालकलाई ह्वाइट हाउस र राष्ट्रपति कार्यालयको ओभल अफिसमा देखाइएको थियो ।


