लक्ष्यभन्दा ५३ अर्ब ६९ करोड कम राजस्व असुली

६ कार्तिक २०७६, बुधबार ०७:४०

काठमाडौं –  सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा धेरै नै कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५३ अर्ब ६९ करोड रुपैयाँ कम उठाउन सकेको हो । यस अवधिमा कुल १ खर्ब ९८ अर्ब ७० करोड रुपैयाँ उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिकमा १ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार सरकारले चालू आर्थिक वर्षको बजेटमा ३० प्रतिशत राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, साउनदेखि असोजसम्मको अवधिमा जम्मा २.५९ प्रतिशत मात्रै वृद्धि भएको देखिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३ महिनामा कुल वार्षिक लक्ष्यको १६.४३ प्रतिशत राजस्व उठेको छ । जसमा करबाट कुल १ खर्ब ७२ अर्ब १८ करोड ८४ लाख रुपैयाँ उठेको छ भने गैरकरबाट १० अर्ब ५१ करोड १८ लाख रुपैयाँ उठेको छ । महालेखा नियन्त्रकको तथ्यांकलाई आधार मान्ने हो भने पहिलो त्रैमासिकमा १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।

यसपालिको दसैं असोज महिनामा परेको र सो अवधिमा सबैभन्दा बढी वस्तुको खरिदबिक्री हुने भए पनि यस वर्ष कम राजस्व उठेकाले अर्थ मन्त्रालय गम्भीर भएको छ । त्यसमाथि यस वर्ष सरकारले पारिश्रमिक भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिँदा पनि राजस्व भने कम मात्र उठेको छ । अहिलेसम्ममा ६ लाख व्यक्तिले स्थायी प्यान नम्बर लिई आयकर बुझाएका छन् ।  अर्थ मन्त्रालयका प्रवक्ता खत्रीले भने, ‘भन्सार राजस्व कम उठेको छ र यस वर्ष आयात पनि कम भएकोले राजस्व कम उठेको प्रारम्भिक अनुमान छ ।’

सरकारले विलासी वस्तुको आयातमा कडाइ गरेका कारण यसपालि आयात कमी भएको र विलासी सामानमा सबैभन्दा बढी कर उठ्ने क्षेत्र नै कडाइ भएकाले पनि राजस्वमा प्रभाव परेको अधिकारीहरूले बताएका छन् । ढुवानीमा भ्याट लगाएको भन्दै केही दिन ढुवानी व्यवसायी ढुवानीमा रोक लगाए पनि पहिलो महिनामा अपेक्षित राजस्व उठ्न नसकेको बताइएको छ । सरकारले चालू आर्थिक वर्ष २०७६÷७७ मा कुल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।

सरकारले निर्धारण गरेको राजस्व लक्ष्यमा भन्सार, मूल्य अभिवृद्धि कर, आयकरले लक्ष्य भेटाउन नसकेको बताइएको छ । भन्सारबाट ६५ प्रतिशत, मूल्य अभिवृद्धि करबाट ७६ प्रतिशत र आयकरबाट ९३ प्रतिशत मात्र लक्ष्यको अनुपातमा राजस्व उठेको छ । सरकारले निजी सवारी साधन र रेडबुलजस्ता इनर्जी ड्रिंक्समा कडाइ गरेपछि आयात कम भएको बताइएको छ ।

सरकारले पहिलो महिनामा नै लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको थियो । सरकारले साउनमा ८५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखे पनि जम्मा ६७ अर्ब रुपैयाँ संकलन गरेको थियो । जुन लक्ष्यभन्दा १८ अर्ब कम हो । गत साउनको संकलित राजस्वमा गैरकर क्षेत्रको ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ तथा कर क्षेत्रको ६२ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ योगदान थियो । सरकारले साउन महिनामा भन्सारलाई १६ अर्ब ८० करोड रुपैयाँ लक्ष्य निर्धारण गरे पनि साउनमा करिब १० अर्ब मात्रै उठाउन सकेको थियो ।

Next Post

मुहार फेर्दै कालिकोटको पलाँता

६ कार्तिक २०७६, बुधबार ०७:४०
कालिकाेट- विगतमा रोग, भोक, गरिवी, अशिक्षा र अभावले उदाहरण बनेको कालिकोटको पलाँता स्थानीय सरकार स्थापनापछि बदलिएको छ । भौगोलिक विकटतासँगै विकासका हरेक पुर्वाधारमा निकै समस्या झेलीरहेको थियो पलाँता गाउँपालिकाले । तर, स्थानीय सरकार आएपछि पलाँताको मुहार फेरिएको हो । पलाँता गाउँपालिकाले, वेरोजगार निवारणका लागि विकास निर्माण कार्यदल गठन गरेर यूवालाई […]