सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले साधारणसभा यही फागुन १३ र १४ गते सुर्खेतमा जनाएका हुन् ।
कर्णालीमा क्रिकेटको विकास हुन नसकेकाले कर्णालीमा साधारणसभा गर्न लागिएको अध्यक्ष चन्दले जानकारी दिए । ‘कर्णालीमा क्रिकेटका कुनै पनि संरचना छैनन् ।’ उनले भने,‘कर्णालीमा खेलको विकास धेरै हुन सकेको छैन् । त्यसैले कर्णालीमा साधारणसभा गर्न लागेका हौं ।’
कर्णालीमा क्रिकेटको भौतिक संरचना नभएका कारणले यहाँ पुरुष क्रिकेट खेलाडी मात्र रहेको ती खेलाडी पनि बाहिर गएर प्रशिक्षण लिनु पर्ने बाध्यता रहेको चन्दले जानकारी दिए । ‘कर्णालीमा महिला क्रिकेटको टिम नै छैन् ।’ उनले भने,‘पुरुष क्रिकेट टिमपनि बाहिर गएर प्रशिक्षण गर्नुपर्ने बाध्यता रहेको छ ।’
कर्णालीमा अझै पनि क्रिकेटको विकास हुन नसकेका कारणले यहाँ क्रिकेटको बिषयमा जानकारी दिन आवश्यक रहेको अध्यक्ष चन्दले बताए ।
नेपाली क्रिकेट टिम अहिले बलियो रहेको युएइमा हुने खेलमा पनि नेपाल राम्रो नतिजा ल्याउने अध्यक्ष चन्दले जानकारी दिए । ‘भावी दिनमा हुने खेलमा नेपालले राम्रो नतिजा ल्याउछ ।’ उनले भने,‘नेपाली क्रिकेट टिम अहिले बलियो हुँदै गएको छ । भावी खेलमा राम्रो नतिजा ल्याउछ ।’


