सुर्खेत-कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीनजना मन्त्री नियुक्त गरेका छन् । दुईजना मन्त्रीले राजीनामा दिएपछि तीन मन्त्री थपिएका छन् । राजीनामा दिने र नियुक्त हुने सबै माओवादी केन्द्रका सांसद रहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सुर्खेतका विन्दमान विस्ट, सिताकुमारी नेपाली र रुकुमपश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मालाई मन्त्रीमा नियुक्त गरिएको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बुधबार नै राजीनामा दिएका छन् ।
दलको निर्णय बमोजिम मुख्यमन्त्री समक्ष राजीनामा दिएको पुर्व मन्त्री विमला केसीले बताईन् । यस्तै नवनियुक्त मन्त्री विन्दमान विस्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिताकुमारी नेपालीलाई जलस्रोत तथा ऊर्जा मन्त्री बनाइएको छ ।
मन्त्रालय फुटाएपछि अब कर्णालीमा मन्त्रालयको संख्या आठ हुने भएको छ । सामाजिक विकास मन्त्रालय पनि मुख्यमन्त्री शाहीले समाल्दै आएकाछन् । मुख्यमन्त्री शाहीले वैशाख ३ गते विश्वासको मत लिने क्रममा कांग्रेसले सहयोग गरेको थियो ।
कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र सो मन्त्रालय दिने तयारी मुख्यमन्त्रीको रहेको स्रोतले जनाएको छ । यस्तै मुख्यमन्त्रीलाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गरेका एमाले नेता माधव पक्षका तीनजना यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् । माओवादीले भने यसअघि अवसर पाएकालाई विदा गरेर नयाँलाई अवसर दिइएको जनाएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ बुधवार नै खुवाउने तयारी भइरहेको बताइएको छ ।


