प्रधानमन्त्रीको महत्त्वाकाङ्क्षी प्रतिबद्धता

३ फाल्गुन २०७७, सोमबार १६:५२

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालको तीन वर्ष पूरा भएको छ । नेकपाको सरकार दुई तिहाइको सरकारको रटान लगाउँदै आएको थियो । यद्यपि पछिल्लो घटनाक्रमले नेकपा दुई ध्रुवमा विभाजित छन् । पार्टी एकतासँगै ५ वर्षसम्मका लागि स्थिर सरकार बन्ने अपेक्षा जनताले गरेका थिए । तर पार्टी अहिले अन्तर कलहमा फसेको छ ।  दोहोरो आर्थिक वृद्धि हुने, लाखौँ युवाले रोजगारी पाउने, देशमा समृद्धि आउने, कोही भोकै मर्न नपर्ने जस्ता विषय सरकारको नीति तथा कार्यक्रममा पनि समेटियो । नेकपाले चुनावी नतिजा आफ्नो हातमा पार्न आर्थिक समृद्धिको नारा र निकै महत्त्वाकाङ्क्षी घोषणपत्रको सहारा लिएको थियो । उच्च आर्थिक वृद्धिदर, सुखी नेपाली समृद्ध नेपाल जस्ता गुलिया नाराको फेरो समातेको नेकपा सरकारको तीन वर्षले के साँच्चै समृद्धिको गोरेटो कोरेको छ त ? अथवा नेकपाले भनेजस्तै उच्च आर्थिक वृद्धिका लागि सरकारले विकासका तमाम काम पूरा गरेको छ त ? हामीले विज्ञको नजरमा प्रधानमन्त्रीका तीन वर्षे कार्यकालमा आर्थिक समृद्धिको अवस्था कस्तो छ भनेर बुझ्न खोजेका छौँ ।

रातोपाटीको जिज्ञासामा अर्थविद् केशव आचार्य प्रधानमन्त्रीको कार्यकालका उपलब्धिको लामो सूची प्रकाशित सरकारकै मिडियाले गरे पनि सोहीअनुसारको काम नभएको तर्क गर्छन् । जतिबेला चुनावी घोषणापत्र निस्कियो सो बेला आफू निकै उत्साहित भएको तर कार्यान्वयनप्रति पनि उत्तिकै सशङ्कित बनेको आचार्यले आफ्नो अनुभव सुनाए ।  त्यतिबेलै आफूले कार्यान्वयन नै हुन नसक्ने तर कार्यान्वयन भए देशले काँचुली फेर्ने विभिन्न सञ्चार माध्यममा अभिव्यक्ति समेत दिएको आचार्य बताउँछन् । सरकारले के गर्नुपर्छ भनेर सोचेको तर कसरी गर्ने भन्ने भिजन नभएपछि उसले आफ्नै घोषणाअनुसारको काम गर्न नसकेको उनको आरोप छ ।  आचार्य भन्छन्, ‘यति ठूलो बजेट छ, संरचना छ केही न केही काम त भएकै हुन्छ जुन सरकार आए पनि । विकास  निरन्तरताको प्रक्रिया हो मात्र कति विकास भयो भन्ने मात्र हो । ओली सरकार नै आएर बाटोमा पिच भएको, लोडसेडिङ अन्त्य भएको होइन । यसका लागि पूर्वाधार बनिसकेको थियो । त्यो कार्यान्वयनमा गएको मात्र हो ।’  माथिल्लो तामाकोसी २०६७ सालमा सुरु गर्दा  जतिबेला अर्थमन्त्री सुरेन्द्र पाण्डे र उनका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्य थिए । तत्कालीन समयमा तामाकोसीमा विदेशी लगानी नलगाई नयाँ मोडलमा बनाउन सुरु गरिएको आचार्य सुनाउँछन् । ४ वर्षमा सक्ने भनिएको आयोजना अझै सञ्चालनमा आएको छैन । यता सरकारले तीन वर्षमा सात हजार किलोमिटर कालोपत्रे सडक गरिएको भनेको छ तर आचार्य  ओलीको पालामा नभई निकै अगाडिदेखि बनिरहेको बताउँछन् । सुरुङमार्ग बनाउने विषयको उठान पनि धेरै भयो । एउटा पनि विकासको भिजन भन्ने देखिएन ।

ओलीले रेल, पानी जहाज, घरघरमा ग्यास पाइप पुर्याउने जस्ता भाषण दिँदै आए पनि देखाउनका लागि रेल ल्याइयो तर अहिले रेल पाल ओडेर बसेको छ । लिकका किलाकाँटा चोरी भएका छन् ।  यता पानीजहाज कार्यालय खुल्यो । त्यहाँ न विज्ञ छन् न इन्जिनियर छन् । विकासकै कुरा गर्ने हो भने सरकारले गरेको विकास खर्चले नै धेरै विषय बोल्छ, यदि तथ्याङ्क केलाउने हो भने । अर्थविद् आचार्य विकास भयो भन्न पुँजीगत खर्च भएको हुनुपर्ने, वैदेशिक सहयोगको प्रतिबद्धता मात्र होइन सोहीअनुसारको सहायता परिचालन हुनुपर्ने  बताउँछन् ।  तर कहिले पनि प्रतिबद्धताअनुसार स्रोत परिचालन हुन सकेको छैन । वैदेशिक सहायता परिचालन गर्ने रणनीति र त्यसको संयन्त्र तथा पुँजीगत खर्चको अवस्था हेर्दा नै सरकारको कार्याकालको उपलब्धि छर्लङ्ग हुने आचार्यको भनाइ छ ।

यता अर्का अर्थविद् डा. विमल कोइराला सरकारले उच्च वाचा र कम कार्यान्वयन गरेको बताउँछन् । उनी सरकारको तीन वर्षे कार्यकालाई समृद्धिको हिसाबले हाई प्रमिस लो इम्प्लिमेन्टेसन भन्न रुचाउँछन् । केपी ओलीको सरकारको पालामा जनताले बाचा हात पारेका तर नतिजा नपाएको उनको बुझाइ छ  । यस्तै  नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर अर्थविद् दीपेन्द्रबहादुर क्षेत्री केपी शर्मा ओलीले आफूले काम गर्न नपाएको भन्दै संसद् विघटन गरेको  देख्दा देशलाई जुरुक्कै उठाउँनुहुँदो रहेछ कि भन्ने भान पर्न जाने बताउँछन् । तर ओलीले आर्थिक विकासको दृष्टिकोणले माथि उचाल्नुपर्नेमा राजनीतक रूपमा उछाल्ने काम मात्र भएको क्षेत्रीको भनाइ छ । आर्थिक विकासकै कुरा गर्ने हो भने उच्च १० आर्थिक विकास गर्ने मुलुकमा हाम्रो मुलुक पनि पर्छ भने पनि उहाँकै निकायले आर्थिक वृद्धिदरको अवस्था ज्यादै दयनीय देखाएको क्षेत्री बताउँछन् । ओलीको भावना र वास्तविकताबीच तामेल नभएको क्षेत्रीको बुझाइ छ । यद्यपि पूर्वाधारको विकासमा भने केही प्रगति भएको उनी स्वीकार्छन् । विगतको अनुभवबाट नेकपाको घोषणापत्रले सिकेन । विज्ञहरुलाई घोषणापत्रको कार्यान्वयनको पक्षबाट प्रभावित बनाउन ओली सरकारले सकेन । मुलुकमा जुनसुकै सरकार आए पनि केही न केही काम त भइरहेकै हुन्छ । विस्तारै विस्तारै आधार बन्दै जाने हो तर जस जति सबै आफैले मात्र लिन खोज्ने राजनीतिक संस्कार भने मौलाइरहेकै छ । प्रधानमन्त्रीले गरेको कामको उपलब्धिको फेहरिस्त जुन उनले नै सुनाइरहेका छन् सोबाटै प्रष्ट हुन्छ जति पनि विकास भएको छ, ओलीकै कारण भएको छ । by ratopati

Next Post

केन्द्रीय समिति बैठकअघि पौडेलले बोलाए छुट्टै भेला, जेठमा महाधिवेशन गर्न प्रस्ताव

३ फाल्गुन २०७७, सोमबार १६:५२
काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाएका छन्। केन्द्रीय सदस्य गुरूराज घिमिरेले सेतोपाटीलाई दिएको जानकारीअनुसार बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता पौडेलले बैठक राखेका छन्। सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। उक्त बैठक […]