केन्द्रीय समिति बैठकअघि पौडेलले बोलाए छुट्टै भेला, जेठमा महाधिवेशन गर्न प्रस्ताव

५ फाल्गुन २०७७, बुधबार १०:२५

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला बोलाएका छन्। केन्द्रीय सदस्य गुरूराज घिमिरेले सेतोपाटीलाई दिएको जानकारीअनुसार बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता पौडेलले बैठक राखेका छन्। सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक डाकेका छन्। उक्त बैठक बस्नुअघि आवश्यक छलफल गरी रणनीति तय गर्न पौडेलले भेला राखेका छन्।

आफू पक्षका केन्द्रीय सदस्यसँग छलफल गरी आजको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नै प्रस्ताव गर्न लागेका छन्। फागुनभित्र क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ। अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ, ७६ जिल्लाले क्रियाशील टुंग्याउन बाँकी छ। चैत महिनामा पार्टीका स्थानीय तहको निर्वाचन गर्न पनि पौडेल पक्षले आजको केन्द्रीय समितिमा प्रस्ताव गर्दैछ। वैशाखमा प्रदेश तहको र जेठमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने कार्यतालिका नै आजको बैठकमा पेश गर्ने तयारी छ। सभापति देउवाको नियमित चार वर्षे कार्यकाल गत वर्ष सकिएको थियो।

देउवाले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थपेका थिए। देउवाको कार्यकाल यही फागुन १९ सम्म छ। कांग्रेसले महाधिवेशनको नयाँ मितिसँगै सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद पनि थप गर्नुपर्ने अवस्था छ। अब देउवाले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ। जसअनुसार छ महिना म्याद थप गर्न सकिन्छ। कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याए पनि महाधिवेशन उक्त मितिमा नहुने निश्चित भएपछि नयाँ मिति तय गर्न लागिएको छ। पौडेलले यसअघि जिल्ला सभापतिहरूको भेला पनि बोलाएका थिए। आजका लागि जिल्ला सभापति भेला बोलाए पनि सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि जिल्ला सभापति भेला स्थगित गरिएको थियो। by setopati

Next Post

2077-06-21

५ फाल्गुन २०७७, बुधबार १०:२५

You May Like