कोरोनाको कहर नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

१ बैशाख २०७७, सोमबार ०८:३९

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।

आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने बताएका छन् । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको उनको ठहर छ । उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन् ।

Next Post

नयाँ वर्ष २०७७ शुरु, लकडाउनका कारण देशैभर देखिएन उत्साह र उमंग

१ बैशाख २०७७, सोमबार ०८:३९
काठमाडौं – आज अर्थात सोमबारदेखि नयाँ वर्ष २०७७ शुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । कोरोना […]