कर्णालीमा ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा दिइँदै

मिसन न्यूज २७ श्रावण २०७८, बुधबार १६:५८

सुर्खेत – कर्णाली प्रदेशका ७८ हजार ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो डोज दिइने भएको छ । पहिलो डोज कोभिशिल्ड लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा एस्ट्राजेनिका खोप लगाउन लागिएको हो ।

गत माघ १४ गतेदेखि शुरु भएको खोप अभियानको पहिलो चरणमा प्रदेशका १ लाख ८ हजार ४८६  ज्येष्ठ नागरिकलाई खोप दिइएको थियो । जसमध्ये २५ हजार ८१७ जनाले दोस्रो चरणको खोप पाइसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए  । उनका अनुसार झन्डै ६ महिनादेखि दोस्रो मात्राको पर्खाइमा रहेका ७८ हजार २०० जना ज्येष्ठ नागरिकलाई अब एस्ट्राजेनिका खोप दिने तयारी गरिएको छ । ‘पहिले भारतमा कोरोना ह्वात्तै बढेपछि खोप आपूर्ति हुन सकेन,’ सूचना अधिकारी चौधरीले भने, ‘अबको दुई साताभित्रै खोपको दोस्रो मात्रा दिइसकिने छ ।’

खोप अभियान साउन २८ र २९ गते सुर्खेतबाट शुरु गरिने निदेशनालयले जनाएको छ । कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेका ज्येष्ठ नागरिकले खोप कार्डसहित नजिकको केन्द्रमा जानुपर्ने निर्देशनालयले जनाएको छ । खोप केन्द्रमा जाँदा अनिवार्य मास्क लगाउन र भीडभाड नगर्न निर्देशनालयले आग्रह गरेको छ ।

त्यस्तै, कोभिड संक्रमण भई निको भएको ३० दिन ननाघेका, कोभिड लक्षण भएका र पहिलो मात्रा लगाउँदा गम्भीर असर देखिकालाई खोप नलगाउन समेत भनिएको छ ।

कछुवा गतिमा खोप अभियान

पछिल्लो दुई साता यता कर्णालीमा कोरोना संक्रमितको दर उच्च छ । प्रदेशभर सक्रिय संक्रमितको संख्या ९२६ पुगिसकेको छ भने संक्रमणदर ६५ प्रतिशत पुगेको छ ।

अबको केही दिनमै चेन ब्रेक नभए संक्रमण पुरानै लयमा फर्कने चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । अस्पतालमा जटिल प्रकृतिका संक्रमित थपिँदै जानुले कर्णाली फेरि कोरोनाको उच्च जोखिममा परेको कर्णाली प्रदेश अस्पतालका डाक्टर नवराज केसीले बताए । तर कोरोना रोकथामको उत्तम विकल्प अर्थात् कोरोनाविरुद्धको खोप अभियान भने कर्णालीमा कछुवा गतिमा छ । खोप अभियान शुरु भएको ६ महिनामा ७७ हजार जनाले मात्रै खोपको पूर्ण मात्रा पाएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार २५ हजार ८१६ जनाले कोभिशिल्ड, २६ हजार ५१० जनाले भेरोसेल र २५ हजार २४८ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् ।

जोन्सन एन्ड जोन्सन खोप मुगुका २ हजार ५०४ जना, कालीकोटका १ हजार ३९० जना, दैलेखका ३ हजार ९७५ जना र सुर्खेतका १७ हजार ४७९ जनाले लगाएका छन् । एकपटक मात्रै लगाए पुग्ने भएका कारण यो खोप लगाउनका लागि विशेषगरी विदेश जाने नागरिकलाई प्राथमिकतामा राखिएको छ ।

कतिले पाए खोपको पूर्ण मात्रा ?

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार खोपको पूर्ण मात्रा पाउनेमध्ये सुर्खेतका ३२ हजार २१७ जना, दैलेखका १० हजार ९५१ जना, जाजरकोटका ३ हजार ५३४ जना, रुकुम पश्चिमका ५ हजार ४७९ जना, सल्यानका ५ हजार ९ जनाले पाएका छन् ।

त्यस्तै डोल्पाका १ हजार १९६ जना, मुगुका ६ हजार २५५ जना, हुम्लाका ४ हजार ३३४ जना, जुम्लाका ३ हजार ७०७ जना र कालीकोटका ४ हजार ८९२ जनाले पनि पूर्ण खोप पाएको निर्देशनालयले जनाएको छ ।

गत माघ १४ गतेदेखि भएको खोप अभियानमा हालसम्म कर्णालीका २ लाख ४४ हजार ५१२ जनाले खोपको पहिलो मात्रा पाएका छन् । कर्णालीमा अनुमानित १७ लाख जनसंख्यामध्ये अझै १२ लाख नागरिकलाई खोप आवश्यक पर्ने निर्देशनालयको अनुमान छ । अनलाइन खबरबाट

Next Post

लोकतान्त्रिक समाजवादी निर्वाचन आयोगमा दर्ता

२७ श्रावण २०७८, बुधबार १६:५८
काठमाडौं –  महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ । सरकारले राजनीतिक दल विभाजनका […]