काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारभन्दा कुनै भिन्न संयन्त्र आवश्यक नरहेको बताएका छन्। आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले सरकार स्वयंले ‘अथोरिटी’का साथ काम गरेको भन्दै अहिले कुनै संयन्त्रको आवश्यकता नरहेको बताएका हुन्।
केहीदिन पहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले एक निजी टेलिभिजनसँगको कुराकानीमा कोभिड–१९ नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन आवश्यक रहेको बताएका थिए।
त्यससता संयन्त्रका विषयमा चर्चा हुन थालेको थियो। प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरूले समेत अहिले संयन्त्रको कुनै आवश्यकता नरहेको बताइसकेका छन्।
मुख्यमन्त्रीहरूको भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै नसकिने समेत बताएका छन्। बिहान साढे ११ बजेबाट शुरू भएको भिडिओ कन्फ्रेन्स दिउँसो साढे तीन बजे सकिएको थियो।
प्रधानमन्त्री ओली सिंहदरबारस्थित् एक्सन रूम र मुख्यमन्त्रीहरू सम्बन्धित प्रदेशस्थित कार्यालयबाट भिडिओ कन्फ्रेन्समा सहभागी भएका थिए।