२२ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एमालेलाई मधेसबाट ब्याण्ड बाजा बजाएर बिदा गर्छौं भन्नेहरुले आफ्नो हैसियत हेर्नुपर्ने सुझाव दिएका छन् । शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछिको आमसभालाई सम्बोधन गर्दै ओलीले अब एमाले तराई मधेसमा केन्द्रित हुन लागेको बताए । केही दिनअघि मधेसी मोर्चाका नेता राजेन्द्र महतोले एमालेलाई ब्याण्ड बाजा बजाएर मधेसबाट खेदाउने चेतावनी दिएका थिए । विहीबारको प्रदर्शनमा एमालेका मधेसी नेता-कार्यकर्ताहरु ब्याण्ड बाजा बजाएरै धोतीगम्छा लगाएर जुलुसमा सहभागी भएका थिए । ओलीले सभामा भने- ‘केही व्यक्तिले एमालेलाई बाजा बजाएर मधेसबाट बिदा गर्ने भनेको सुनियो, म उनीहरुलाई हैसियत स्मरण गराउन चाहन्छु । सिंगो तराई मधेसमा उनीहरुले जितेको ११ सीट हो, एमाले एक्लैले ४० सीट जितेको छ । एमाले मधेसका जनताको बीचमा जागरण अभियान लिएर जाँदैछ ।’ओलीले फागुन दोस्रो सातापछि एमालेले मेची महाकाली अभियान चलाउन लागेको र काठमाडौंको जागरणलगत्तै तराई मधेसमा सिंगो पार्टी केन्दि्रत हुने जानकारी दिए । सभालाई सम्बोधन गर्दै ओलीले भने- हामी अब मधेस अभियान चलाउँदैछौं । हामी तराईमा जाँदैछौं । तराईका जनतामा रहेको देशभक्तिलाई कमजोरी नठाने हुन्छ । तराईका जनतालाई अल्मल्याउन सकिन्छ भन्ने नठाने हुन्छ । यस अभियानको अगाडि, यस देशभक्तिपूर्ण आन्दोलनको अगाडि एमाले छ । ओलीले राजधानी उपत्यकाको जागरणलाई अब देशव्यापी फैलाउनुपर्ने बताए । उनले ५ नम्बर प्रदेशको बिभाजन मधेशी जनताको माग नभएर बाहृय शक्तिबाट निर्देशित व्यक्तिहरुको माग मात्रै रहेको बताए । ओलीले अहिलेको संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरीत भएको भन्दै यसलाई एमालेले असफल गराई छाड्ने प्रतिवद्धतासमेत जनाए । अनलाइन खबरबाट