भोजपुर – भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।
खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए। गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो। मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
सुराकीको आधारमा खोजी गर्दै पुगेकाे भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गाेली चलाउन खोजेपछि जवाफी फायरमा उनी घाइते भएको प्रहरीले जनाएको छ। भिडन्तमा प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल , पाँच राउन्ड गोली, एक थान वाइनाकुलर र चार थान डेटोनटर बरामत गरेको थियो।
टेम्केमैयुङ्ग गाउँपालिका वडा नं.२ छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका हतियारधारी समूह र प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। उक्त ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ। त्यस क्रममा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए।