सुर्खेत – कर्णालीमा हिमपात र अविरल वर्षाले जनजीवन कष्टकर बन्दै गएको छ । हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात हुनुका साथै लगातार पानी परेपछि चिसोले जनजिवन कष्टकर बन्दै गएको हो । यो बर्ष कर्णालीमा धेरै पटक हिमपात भएको छ । हिमपातको कारण कर्णालीको सुर्खेत, हुम्ला, मुगु, जुम्ला, डोल्पा, दैलेख र कालिकोटलगायतका दश वटै जिल्लाको जनजीवन कष्टकर बनेको छ । कर्णालीमा विहिबार पनि बिहानैदेखि हिमपात भएको छ ।
हिमपातसंगै अत्यधिक चिसो बढेको छ । उच्च हिमाली क्षेत्रमा गाईवस्तु पालनमा समस्या भइरहेको छ । बालबालिका र बृद्धबृद्धा प्रभावित बनेका छन् । चिसोका कारण कर्णालीबासी घर बाहिर निस्कन सकेका छैनन् । एक हप्तादेखि पानी पर्ने, हिमपात हुने र बादल लागेर चिसो बढेको मौपम विद्ले जानकारी दिएका छन् । कर्णालीमा हिमपातले शैक्षिक संस्था समेत प्रभावित छन् । सुर्खेतको तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ । हिमपातले चिसो बढेसंगै कर्णालीका सवै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । कर्णालीका दश वटै जिल्लामा भारी हिमपात भइरहेकाले छोटो तथा लामो दुरीका यातायात पनि चल्न सकेका छैनन् ।
सडक दुर्घटना हुन सक्ने भन्दै चिसोमा आवश्यक काम बाहेक लामो यात्रामा नहिंड्न प्रशासनले सुझाव दिइएको छ । हिमपातका कारण प्रमुख पर्यटकीय गन्तब्यका रुपमा रहेको रारातालसम्म जाने पर्यटक जान सकेका छैनन् । कर्णाली राजमार्गमा पर्ने सुर्खेत—दैलेख हुँदै कालिकोट भएर जुम्ला सडक ठाउँ—ठाउँमा हिलाम्मे भएको छ ।
हिमपातका कारण कर्णालीका अधिकांस जिल्लामो मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा भारी हिमपाता भइरहेको छ । हिमपात निरन्तर हुँदा दुर्गम जिल्लाको जनजीबन निक्कै प्रभाबित भएको छ । हिउँ परिरहेकोले जमिनमा बाग्लो हिउँ जमेको छ । कालिकोटमा जिल्ला प्रहरी कार्यालयले सदरमुकाम मान्ममा आगो बालेर स्थानीयलाई न्यानो बनाएको छ । प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले आगो बालेर स्थानीयलाई तताउने गरेको प्रहरी नायव निरिक्षक श्यामबावु ओलियाले बताए ।
चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम नेपालमा विहिबार साँझदेखि विस्तारै मौसममा सुधारहुँदै जाने पनि महाशाखाले जनाएको छ ।