कालिकोट — सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउने चामल सदरमुकाम मान्मस्थित खाद्य संस्थानको गोदाममा बिक्री नभएर थन्किए पनि गाउँमा पुगेको छैन । जिल्लाका दुर्गम पलाता र पचालझरनाको थिर्पु खाद्य डिपोमा भने चामल अभाव छ । भएको केही चामल हारालुछ भएको छ ।सदरमुकामलाई सडक सञ्जालले जोडेपछि चामल बिक्री हुन छाडेको छ तर दुर्गम गाउँका डिपोमा भने चामल अभाव छ ।
मान्ममा खाद्यको शाखा कार्यालय छ । जिल्लाका थिर्पु, पादमघाट र खल्लागाडमा गरी ३ ठाउँमा डिपो छ । सडक पचुह नभएको नरहरिनाथको कुमालगाउँ र रास्कोटमा डिपोको माग भएको दशक पुगे पनि अझै स्वीकृत भएको छैन ।
सडक नहुँदासम्म दैनिक एक सय क्वीन्टल चामल बिक्री हुने मान्मस्थित खाद्य संस्थानमा अचेल सरदर दैनिक ६ क्वीन्टल मात्र बिक्री हुने गरेको शाखा प्रमुख झक्कुप्रसाद आचार्यले बताए । ‘चामल खासै बिक्री हुने गरेको छैन,’ उनले भने, ‘धेरैजसोले बजारका पसलबाटै किनेर खान्छन् ।’ उनले सदरमुकाममा चामल लिन आउनेको संख्या थोरै भए पनि गाउँमा चामलको अभाव हुने गरेको सुनाए । खाद्य संस्थानमा आएर मान्म आसपासका स्थानीयले मात्र चामल लिने गरेका छन् । कर्णालीका अन्य जिल्लामा ढुवानी समस्याले चामलको अभाव भए पनि कालिकोटको खाद्य संस्थानमा अघिल्लो वर्षकै चामल मौज्दात छ ।
विगतका वर्षमा प्राय: दसैंको बेला चामलको अभाव हुने कालिकोटमा यस वर्ष अघिल्लो वर्षको १ हजार ७ सय ८१ क्वीन्टल मौज्दात छ । सडक नहुँदासम्म वार्षिक १५ हजार क्वीन्टल चामलको कोटा निर्धारण गरिएको हुन्थ्यो । यस वर्ष २ हजार ५ सय ८० क्वीन्टल मात्र स्वीकृत भएको शाखा प्रमुख आचार्यले बताए । उनका अनुसार हालसम्म १ हजार ७ सय ११ क्वीन्टल चामल मान्म पुगिसकेको छ ।
चालु आवमा सबैभन्दा बढी चामल खपत थिर्पु डिपोमा भएको छ । हालसम्म ६ सय ९९ क्वीन्टल ८० केजी ढुवानी भएकोमा सबै बिक्री भइसकेको छ । अहिले डिपो रित्तै छ । पादमघाट डिपोमा २ सय र खल्लागाडमा ४३ क्वीन्टल मात्र बाँकी छ । ‘सडक पुगेपछि सदरमुकाममा चामल अभाव हुन छाड्यो,’ खाद्य संस्थानका पुराना कर्मचारी तिलक खनालले भने, ‘पहिले त चामल बेच्ने दिनमा भीड नियन्त्रण गर्न प्रहरी बोलाउनु पथ्र्यो ।’
बजारमै रोजेर चामल किन्न पाइने भएकाले खाद्य संस्थान जान छाडेको मान्म बजारकी कमला शाहीले बताइन् । ‘बजारमा नपाए पो खाद्यमा जाने हो,’ होटल व्यवसायी शाहीले भनिन्, ‘अचेल जताततै रोजेर छानेर चामल पाइन्छ । किन जानू ?’ उनले खाद्यको मोटा चामल रक्सी बनाउन मात्र काम लाग्ने गरेको बताइन् ।
कर्णाली लोकमार्ग सुर्खेत–जुम्ला सडक नियमित भएपछि विनियोजित सबै चामल जिल्लामा पुग्नु, स्थानीय व्यापारीले पनि चामल स्टक राख्नु, गह‘ु र मकै बालीको उत्पादनमा वृद्धि हुनु, कर्णाली नदीपारि पर्ने एक दर्जन बढी गाविसका बासिन्दा खाद्य संस्थानको चामल लिन सदरमुकाम मान्मभन्दा जिते बजार जानु, कर्णाली करिडोर खुलालु हुम्ला सडकको ३० किमिसम्म ट्रयाग खुल्नुजस्ता कारणले चामल मौज्दात रहेको खाद्य संस्थानले जनाएको छ ।
खाद्य संस्थानले शतप्रतिशत ढुवानी अनुदानमा उपलब्ध गराउने सोना मन्सुलीको प्रतिकेजी ४८ र मोटा जापानिजको ३५ रुपैयाँ पर्ने गरेको छ । ‘अन्यत्र चामल पाए सस्तोका लागि मात्र खाद्यमा लाम बस्न जनता नआउने रहेछन्,’ खाद्य संस्थानमा १८ वर्षदेखि काम गर्दै आएका खनालले भने, ‘सडक पुगेपछि स्थानीय बजारबाटै धेरैजसो खाद्यान्न खरिद बिक्री हुने गरेको छ ।’ खाद्य संस्थानको भर पर्नुपर्ने अवस्था अहिले नभएको र बजारका खाद्य तथा किराना पसलमै पर्याप्त चामल पाइन थालेको कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए । ‘गाउँमा त अभावै छ,’ उनले भने, ‘सदरमुकाममा समस्या छैन, सडक पुगेपछि प्रत्येक वर्ष चामल मौज्दात रहने गर्छ ।’
कालिकोटमा सडक पुगेपछि चामलको सिफारिस माग्न स्थानीयवासीले जिल्ला प्रशासन धाउन छाडेको निमित्त प्रजिअ राजकुमार दुलालले बताए । ‘पहिले त प्रशासनमै चामलको कुपन माग्नेको भीड लाग्थ्यो रे,’ उनले भने, ‘त्यो सुनेर अचेल त विश्वास नै लाग्दैन ।’ सधैंजसो खाद्यान्न अभाव हुने खिन, धौलागोह, थिर्पु, नानीकोट र राम्नाकोटका बासिन्दा पनि चामल लिन सदरमुकाम आएका छैनन् । कान्तिपुरबाट