सुर्खेत– कर्णालीमा कोरोना संक्रमणको संख्या ११ पुगेको छ । कर्णाली प्रदेशमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश प्रयोगशालामा थप दैलेख गुराँस गाउँपालिकाको २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि ११ जनाको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् । गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय दुवै जना पुरुष रहेका छन् ।
दैलेख सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन् ।
संक्रमण पुष्टि भएका ५ जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका– १ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताए । कोरोना संक्रमित ११ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।