१३ चैत, बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान चिनियाँ पर्खाल (ग्रेटवाल) को अवलोकन भ्रमण गरेका छन् ।
संसारका सात आश्चर्यमध्ये एक मानिने ग्रेटवालको भ्रमणमा प्रधानभमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री डा प्रकाशरण महत र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल लगायत सहभागी थिए ।
साथै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, प्रधानमन्त्री पत्नी सीता दाहाल र छोरा प्रकाश पनि ग्रेटवाल चढेका थिए ।
ग्रेटवालबाट फर्केर प्रधानमन्त्री प्रचण्ड बेइजिङमा आफू बसेकै होटलमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका प्रमुखसँगको बैठकमा सहभागी भएका छन् ।
सो बैठकपछि वैदेशिक अध्ययन केन्द्रमा आयोजित बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम छ । प्रधानममन्त्रीको टोलीले आइतबार बेइजिङमा अरनिकोले बनाएको ह्वाइट टेम्पल समेत अवलोकन गर्ने कार्यक्रम छ ।
साँझमा चिनियाँ उपप्रधानमन्त्रीसँग भेट गर्ने र उनले आयोजना गरेको डिनर कार्यक्रममा नेपाली भ्रमण टोली सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले अनलाइनखबरलाई बतायो ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीचको भेटवार्ता सोमबार अपराहृन ४ बजेका लागि तय गरिएको छ ।
चीनको हेइनान प्रान्तमा आयोजना गरिएको बोआओ सम्मेलदनमा भाग लिएर प्रधानमन्त्रीको टोली शनिबार बेइजिङ पुगेको हो । १० गते चीनतर्फ लागेका प्रधानमन्त्री १६ गते स्वदेश फर्कने कार्यक्रम छ । अनलाइन खबरबाट