२२ पुस, काठमाडौं । नेकपा एमालेको नेतृत्वमा ९ दलीय गठबन्धनले आयोजना गरेको आजको विरोधसभाका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ । यसको कारण के हो भने आन्दोलनकारीले ४० ठाउँबाट जुलुस निकाल्ने छन् र प्रदर्शनीमार्गको बीच सडकमै मञ्च बनाएर आमसभाको आयोजना गरिने छ ।एमालेसहित ९ दलको विरोधसभा दिउँसो ३ बजे राष्ट्रियसभा गृह अगाडिको वीच सडकमै हुने भएको छ । सडकमा कार्यकर्ताहरुले मञ्च निर्माण गरिरहेका छन् । तीन बजे सभा सुरु हुनुअघि विभिन्न ४० ठाउँबाट जुलुसहरु निस्कने छन् । ती जुलुसहरु दिउँसो १ बजे रत्नपार्कमा आइपुग्ने छन् । यसक्रममा राजधानीका विभिन्न ठाउँको ट्राफिक व्यवस्थापनमा खलबल आउने निश्चित छ । रत्नपार्कबाट मूल जुलुस दिउँसो डेढ बजे सुरु हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । उपत्यकाका विभिन्न ठाउँबाट निस्कने ४० वटा जुलुसमध्ये एमालेका ३० वटा जनवर्गीय संगठनका बेग्लाबेग्लै जुलुस हुनेछन् । त्यसैगरी उपत्यकाका १५ निर्वाचन क्षेत्रका निर्वाचन कमिटीले बेग्लाबेग्लै जुलुस निकाल्ने एमालेले जनाएको छ । त्यस्तै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका बेग्लाबेग्लै जुलुस हुनेछन् । विभिन्न जिल्लाका सम्पर्कमञ्चहरुको अर्को जुलुस हुनेछ ।
परिवार दल, नेमकिपा, राष्ट्रिय जनमोर्चा र मालेले पनि बेग्लै जुलुस निकाल्ने र रत्नपार्कमा मिसिने समझदारी भएको एमालेले जनाएको छ ।रत्नपार्कबाट केपी ओलीसहित ९ दलका शीषै नेताको अगुवाइमा सुरु हुने मूल जुलुस त्यहाँबाट पुरानो बसपार्क र भद्रकाली हुँदै सहीद गेट, न्यरोड गेट, भोटाहिटी, बागबजार र पुतलीसडक हुँदै प्रदर्शनीमार्ग आइपुगेपछि सभामा परिणत हुनेछ । यो अवधिसम्म काठमाडौंको यातायात व्यवस्था प्रभासिवत हुने देखिएको छ । अनलाइन खबरबाट