जल माफियाको कमिसन बाटो बन्द गर्न ऊर्जामन्त्री शाहीकाे चेतावनी

२८ आश्विन २०७४, शनिबार १५:३७

कालीकोट – ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले जल माफियाहरुको कमिसन लिने र दिने बाटो बन्द भएको दावी गरेका छन् । देशका ठुला वा साना जलविद्युत आयोजनामा विगतदेखि नै भ्रष्ट्राचार र कमिसनको खेल हुदैँ आएकाले अब त्यो बाटो बन्द गरेको मन्त्री शाहीले बताए । आगामी हुने प्रेदशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिसको बैठकमा कालिकोट सहभागी भएका मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

आफू मन्त्री भएपछि जल माफियाहरुकाे कमिसन खेल बन्द गरेको भन्दै मन्त्री शाहीले ठुला सहरका तारे होटलमा बसेर झोलामा नदीनाला बोक्नेहरुलाई काम तत्काल सन्चालन गर्न निर्देशन सहित खवदारी गरेको सुनाए । उनले अब आफ्नो मुख्य ध्यान वर्षौदेखि कामको सम्झौता गरेर काम नभएको पश्चिमसेति र अपरकर्णाली केन्द्रित भएको बताए ।

मन्त्री शाहीले भने, ‘मन्त्रालयको भन्दा पनि लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री नै भएकाले ठुला योजना, पश्चिमसेति र अपरकर्णालीलाई विशेष निकगरानी गर्न जरुरी भएको छ ।’  देशभर काम सुचारु नभएका जलविद्यूत आयोजनालाई ३५ दिनभित्र काम सुरु गर्न निर्देशन दिइसकेकोले अबको केही दिनमै आयोजनाहरुको काम सुरु हुने मन्त्री शाहीले बताए ।

कर्णालीको कालिकोटमा विद्युतको राष्ट्रिय प्रशारण लाईन जडानका लागि बजेट सहित व्यवस्थापन गरेर टेन्डर प्रक्रिया शुरु भईसकेको उनले बताए । पहिलो पटक ५० करोड बजेट विनियोजन भईसकेकाले एक वर्ष भित्र कालिकोटको रास्कोट र सदरमुकाम मान्ममा बत्ती बल्ने उनले बताए । कालिकोटमा ३३ केभि क्षमताको विद्यूतलाई पुग्ने छ । हाल दैलेखको दुल्लुसम्म राष्ट्रीय प्रसारण लाईन पुगेको छ । राष्ट्रिय प्रशारण लाईनको सदरमुकाम मान्म र रास्कोट गरी दुईवटा स्टेशन रहने बताइएको छ ।

हाल जिल्लामा दुई दर्जन बढी साना जलविद्युत योजना भए पनि अलपत्र अवस्थामा छन् । जिल्लाको पोदमारामा उत्पादन गरिएको ५ सय किलोवाट क्षमता भएको विद्युत योजना जीर्ण अवस्थामा छ । सदरमुकाम मान्म खाँडाचक्र्लगायतका साविकका रास्कोटमा पर्ने फुकोट,स्युना,सिप्खाना, र सान्नी त्रिवेणीमा पर्ने मुम्रा,मेहलमुडी, रकु गाविसमा विद्युत संचालनमा छ । प्रसारणमा आएको विद्युत नियममित भने भएको छैन ।

Next Post

निर्वाचन हुन्छ, हुन्छ, हुन्छ : प्रधानमन्त्री देउवा

२८ आश्विन २०७४, शनिबार १५:३७
काठमाडौं । निर्वाचन आयुक्त र प्रमुख राजनीतिक दलहरुवीच निर्वाचन समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ । निर्वाचन आयोगको कार्यालयमा भएको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । देउवाले भने,‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ।’ आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा […]