कालिकोट– जिल्लाको नरहरिनाथ गाउँपालिकाको सम्पर्क कार्यालयमा लगाएको ताला प्रहरीले खोलोको छ । नेपाली काँग्रेस कालिकोटले मंगलबार जिल्ला सदरमुकाम मान्मको सम्पर्क कार्यालयमा ताला लगाएको थियो । गाउँपालिका प्रमुख धिरबहादुर बिष्टले विकास निर्माणमा समन्वयकारी भुमिका नगरी एकलौटी रुपमा शासन लादेको भन्दै कार्यालय घेराउ गर्दै ताला बन्द गरेका थिए । मंगलबार साँझपखका वेला प्रहरीले ताला फोडेर कार्यालय संचालनमा ल्याएको हो । नरहरिनाथ गाउँपालिकामा कर्मचारी नियुक्ति, योजना बाँडफाँड, उपभोक्ता समिति गठन प्रक्रियालगायतका काममा आफ्ना आफन्तलाई भर्ति गरेको काँग्रेसले आरोप लगाएको छ । दुई वटै पक्षलाई बार्तामा वोलाएर समस्या सामाधान गरिने प्रमुख जिल्ला अधिकारी चन्द्र कार्कीले बताए ।
गाउँपालिका जनप्रतिनिधिले गरेका नराम्रा कामको खबदारीका लागि गत भदौ ३१ गते १६ बुद्धे असहमति पत्र काँग्रेसले पेश गरेको थियो । उक्त असहमतिलाई समझदारी नगरी झनै वेवास्ता गरेको तत्कालीन स्थानीय चुनावमा अध्यक्ष पदबाट पराजित भएका मिनबहादुर बोगटीले बताए । मंगलबार तालाबन्दीपछि नेपाली काँग्रेस कालिकोटले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा ताला लगाउनुको मुख्य काराण गाउँपालिकामा लागु भएका प्रत्येक योजनामा अनियमितता गरेको आरोप लगाइएको छ ।
गत आर्थिक बर्षमा लागु भएका योजना पुरा नभएको चौतर्फी गुनासो छ । तर, गाउँपालिकाको गाउँ कार्य समितिले पुराना उपभोक्तालाई नै पुनः जिम्मेवारी देखिएको छ । सडक निर्माणका लागि जनशक्ति प्रयोग नगरि डोजरलाई मोटाउने काम गरिएको आरोप लगाइएको छ । गाउँपालिले तिन ठुला सडक योजना निर्माण गर्दा तत्कालीन एमाले र माओवादीका नेता कार्यकर्ताललाई उपभोक्ताको जिम्मा गाउँपालिकाले दिएको भन्दै काँग्रेसल विरोध गरेको छ ।
नेपाली काँग्रेसलाई विकास निर्माणबाट पाँखा लगाएर एकलौटी राज गरिएकाले ताला लगाउन बाध्य पारिएको नेपाली काँग्रेस कालिकोटका प्रबक्ता नगेन्द्र बिष्टले बताए । गाउँपालिका अध्यक्ष र गाउँ कार्य समितिले शिक्षा ऐन अध्ययन नगरेर काम गरेको छ । राहत दरबन्दीलाई अस्थायी र अस्थायी दरबन्दीलाई राहतमा मिलागरेको बताइएको छ । कानुनलाई लात हान्ने काम गाउँपालिकाले गरेको काँग्रेसका जिल्ला सहसचिव दमन शाहीले बताए । गत आर्थिक बर्षमा गरिएका कामको सार्वजनिक सुनुवाइ गरिनु पर्ने, गाउँपालिकाले लागु गरेका ऐन राजपत्रमा प्रकाशित गरिनु पर्नेलगायतका १६ बुद्धे असहमति पत्र काँगेसले गाउँपालिकालाई बुझाएको थियो । गाउँपालिकाले तिब्र रुपमा विकास निर्माणका काम गरेकाले कांग्रेसले रिसका कारणले सम्पर्क कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताएका छन् ।


