डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लाको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।
अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । अमरगढी जिताउन देउवा यसपटक एक साता मुकाम बनाएर बसेका थिए ।
एमाले उम्मेदवार विश्वेवर प्रसाद ओझाले काङ्ग्रेस उम्मेदवार डिल्लीराज जोशीलार्इ १२८ मत अन्तरले हराएका हुन् । ओझाले ३ हजार ७६८ मत पाए भने जोशीले ३ हजार ६४० मत पाएका छन् । माओवादी उम्मेदवार शोभा भट्टको पक्षमा ३३९ मत परेको छ ।
उपप्रमुखमा एमालेकी संगिता भण्डारी विजयी भएकी छन् । उनले ३ हजार ५१७ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत पाइन् । माओवादीका करुणाकर ओझाले ७१७ मत पाएका छन् ।
अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाइरहेको छ । दोस्रो चरणमा चुनाव भएका १११ नगरपालिकामध्ये एमालेले अमरगढी जितेर नगरपालिकातर्फ विजयी शुरुवात गरेको छ ।