काठमाडौं-ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएको बेड भरिएपछि थप ८० बेड विस्तार गरेको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यले यसअघि कोरोना उपचारका लागि छुट्याइएको १ सय ८० बेड नै भरिएपछि थप ८० बेड विस्तार गरिएको जानकारी दिए। उनले शुक्रबारबाटै सञ्चालनमा आउने गरी ती बेड थपिएको जानकारी दिए।
योसँगै अब पाटन अस्पतालमा कोरोना उपचारका लागि बेड संख्या २ सय ६० पुगेको छ। तर संक्रमणदर उच्च भएकाले थप गरिएको बेड पनि केही दिनमै भरिने अस्पतालले जनाएको छ। निर्देशक शाक्यले ८० बेड थप गरिए पनि त्यसमा आइसियू र भेन्टिलेटर भने नभएको बताए। ‘आइसियू र भेन्टिलेटर थपिएको छैन। सामान्य अक्सिजनको साहयतामा उपचार गर्न मिल्ने गरी बेड विस्तार गरिएको हो,’ उनले भने।
शाक्यले संक्रमितको चाप अनुसार आवश्यकताका आधारमा बेड विस्तार गर्दै लैजाने बताए। उनले अहिले अस्पतालको कुल बेड क्षमता ६ सय ५० रहेको भन्दै उनले बेड नपाउने स्थिति आए पूरै अस्पताल नै कोभिडको मात्र उपचार गर्ने गरी बिस्तार गर्नसक्ने अवस्थामा रहेको जानकारी दिए।