कालिकोट– नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको छ । प्रहरीले देशभरसंगै कालिकोटमा पनि यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाउने योजनासमेत ल्याएको छ । कार्यक्रमको प्रस्तावसहित सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता गरिएको छ ।
कार्यक्रमको जिल्ला सदरमुकाम मान्ममा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक विनोद शर्माले समझादारीपत्र प्रस्तुत गर्दै प्रहरी शासक नभइ जनताको सेवक हुने बताए ।
समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रमलगायतका विषय समेटिएका छन् ।
त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, खाँडाचक्र नगरपालिका उपमेयर विजया बिष्ट, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलगायतको उपस्थिति थियो । नागरिकसँगको सम्बन्ध सुधार गर्न नेपाल प्रहरीले देशव्यापी रुपमा नयाँ अभियान सुरु गर्दैछ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथसामुदायिक प्रहरीको अवधारणलाई परिस्कृत गरी ‘समुदाय–प्रहरी साझेदारी’ नामक नयाँ अभियान सुरु गर्न लागिएको हो ।
अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन हुन लागेको हो । शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा कार्यक्रम शुरु गर्न लागिएको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याएपनि प्रभावकारी हुन सकेको थिएन ।