वीरेन्द्रनगरमा संक्रमण रोक्न लकडाउन गरिने

१२ बैशाख २०७८, आईतवार ११:३३

सुर्खेत– दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विरेन्देरनगरमा संक्रमणको अवस्था आँकलन गरेर लकडाउने गर्ने गृहकार्य स्थानीय प्रशासन गरिरहेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शनिवार बसेको बैठकले आगामी तीन–चार दिनको संक्रमण दरको आँकलन गरेर लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको हो । आज भोलीकै दरमा संक्रमण बढेमा नयाँ कदम चाल्नु पर्ने देखिन्छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘केही दिनमा कोरोना संक्रमितको दर यहीँ रफ्तारमा बढे संक्रमण रोक्न लकडाउन नै गर्नुपर्ने अन्तिम विकल्प हो ।’ भारतमा कोरोनाको भयावह अवस्था हुनु र रोजगारीका लागि भारत गएका नेपालीहरु घर फर्कने सिजन भएकोले संक्रमण दर अझै बढ्ने आँकलन स्थानीय प्रशासनको छ । ‘नेपालगञ्जमा लागु गरिएको लकडाउन र त्यसको प्रभावकारिताबारे पनि नजिकबाट बुझिरहेका छौं,’ प्रजिअ रिजालले भने, ‘नेपालगञ्जमा लकडाउन लागु गरेपनि भारतबाट कर्णाली आउने नागरिकहरु निर्वाध रुपमा आइरहेको देखिन्छ, यसले थप स्थिति भयावह हुने खत्तरा रहेकाले प्रवेशद्वार सुर्खेत भएकाले पनि उच्च सर्तकता र सावधानी अपनाउन जरुरी छ ।’

शनिवार बसेको केन्द्रको बैठकले समग्र जिल्लामा संक्रमणको पछिल्लो अवस्था, आइसीयु, भ्यान्टीलेटर, आइसोलेशन, एम्बुलेन्स लगायतको उपलव्धता बारे समिक्षा गरेको छ । ‘तत्कालिन अवस्थामा कोरोना संक्रमितलाई आवश्यक उपचारको लागि जिल्लामा सबै तयारी राम्रै देखिएको छ,’ प्रजिअ रिजालले भने, ‘तर संक्रमण दर बढ्दै गएमा त्यसको रोकथामका लागि स्वास्थ्यकर्मी, स्थानीय तह, सुर्खेत उद्योग बाणिज्य संघ, सुरक्षा निकायले हाइअलर्टमा काम गर्नेगरी केन्द्रको बैठक सकिएको छ ।’ कोरोनाको हटस्पट वीरेन्द्रनगर बन्ने खतरा रहेकाले स्थानीय प्रशासनले वीरेन्द्रनगर नगरपालिकालाई विदेश र अन्य जिल्लाबाट आउने सबै नागरिकहरुको विवरण राख्न आमा समूह, सहकारी समूह, क्लव लगायत आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन दिएको छ । प्रदेश अस्पतालमा संक्रमित सबैलाई राखेर उपचार गर्दा चाप बढ्ने भएकाले जटिल प्रकृतिका बाहेक अन्यलाई सम्बन्धित पालिकाहरुमै उपचार गर्नेगरी व्यवस्था मिलाउन पालिकालाई तयारी गर्न आग्रह गरिएको प्रजिअ रिजालको भनाई छ ।

अनुगमनका क्रममा वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्यकाे मापदण्ड पालना नगरेकाे पाइएकाे रिजालले जानकारी दिए । उनकाअनुसार सुर्खेत उद्याेग वाणिज्य संघ अन्तरगत रहेका वस्तुगत समितिमार्फत अनिवार्य मास्क र सेनिटाइजरकाे प्रयाेग तथा सामाजिक दुरी कायम गर्नमा गम्भीर बनाउने निर्णय समेत गरिएकाे छ । प्रदेश अस्पतालमा संक्रमितहरुलाई फोनबाट परामर्श दिन कल सेन्टर राख्ने निर्णय समेत केन्द्रले गरेको रिजालले जानकारी दिए । सुर्खेतमा हाल ३२९ जना कोरोनाका सक्रिय संक्रमित विरामीहरु आइसोलेशनमा बसिरहेका छन् । शुक्रबार मात्रै सुर्खेतका १०७ जनामा कोरोना पुष्टि भएको छ ।

Next Post

एमाले स्थायी कमिटी बैठक जारी, ७ जनालाई सांसदबाट कारवाहीको तयारी

१२ बैशाख २०७८, आईतवार ११:३३
काठमाडौं – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो । एमाले स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको […]