महिला हिंसाको घटनाले आफै लज्जित हुने अवस्था आयो : गृहमन्त्री थापा

१२ आश्विन २०७५, शुक्रबार १३:५१

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले महिलामाथि भएका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफैं लज्जित हुने अवस्था आएको बताएका छन् । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुसँगको भेटमा उनले महिला र बालबालिकामाथि जघन्य अपराध नदिन सरकार जिम्मेवार ढंगले लागि परेको पनि दावी गरे ।

गृहमन्त्री थापाले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानबिन गरी दोषीलाई कारवाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिएका थिए ।

नेकपाका नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन् । पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनुपरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । शाक्यले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कारवाही गर्न सरकारलाई गम्भीर बन्न सचेत गराइन् ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढ्दै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन् । उनीहरुले सो घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भीर नभएको आरोप पनि लगाउँदै आएका छन् ।

Next Post

नेकपामा ओली र नेपाल समूहबीच आरोप प्रत्यारोप, मिल्ला त विवाद ?

१२ आश्विन २०७५, शुक्रबार १३:५१
काठमाडौं– वरिष्ठ नेता माधवकुमार नेपालले सरकार र नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु उनीमाथि खनिएका छन् भने नेपाल पक्षधर नेताले बचाउ गरिरहेका छन्। नेता नेपालले प्रतिनिधिसभाको बिहीवारको बैठकमा ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाई देउ’ […]