विमानस्थलमा बर्दीवाल प्रहरीमाथि पारश शाहको लफडा

२ भाद्र २०७६, सोमबार १३:३३

काठमाडौं – पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका छन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई गिज्याएका छन् ।

पारसले विमानस्थलभित्र छिर्ने क्रममा वायाँ हातले प्रहरीलाई धकेलेका थिए । उनको धक्कापछि प्रहरी दुई कदम पछाडि हुत्तिए । प्रहरीलाई धलेकेपछि पारस रातो कार्पेट टेक्दै अगाडि बढे । उनले अलिकति अगाडि बढेर प्रहरीतर्फ फर्केर हेरे । र, फेरि जंगिँदै फर्किए ।

प्रहरीलाई दोस्रोचोटि झम्टँदा छोरा हृदयेन्द्रले आफ्ना पितालाई हातमा समातेर रोक्ने प्रयास गरे । त्यसपछि उनी वीचैबाट फर्केर चोर औंला देखाउँदै विमानस्थलको दोस्रो गेटतर्फ लागे ।

आमा कोमल शाहलाई बैंककका लागि विदाई गर्न पारस आइतबार सपरिवार विमानस्थल पुगेका थिए । पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थल गएका थिए ।

पूर्वराजपरिवारका सदस्यहरु विमानस्थल पुग्दा ज्ञानेन्द्र र कोमलको तस्वीर अंकित टि-शर्ट लगाएका युवाले विमानस्थल परिसरमै राजतन्त्रको पक्षमा नारा घन्काएका थिए ।  प्रहरीले पूर्वराजपरिवारका सदस्यलाई नारा लगाउने व्यक्ति ठानेर भित्र जानेबेलामा रोक्न खोज्दा पारसले बर्दीवाल प्रहरीलाई छातीमा धकेलेका हुन् ।

विमानस्थलमा पूर्वराजपरिवारका तर्फबाट नाराबाजीका लागि भीड जम्मा पारिएकाले विमानस्थल प्रवेश गर्ने मुख्य गेटमा को पूर्वराजपरिवारको सदस्य हो र को नारा लगाउन आएको कार्यकर्ता हो भनेर छुट्याउन प्रहरीलाई गाह्रो थियो ।

गेटमा उभिएका प्रहरीले एक/एकजनालाई पालैपालो भित्र छिराइरहेका थिए । पारसले पनि आफ्नो परिवारका सदस्यलाई हातले तान्दै भित्र छिराइरहेका थिए । आमा कोमल, बहिनी प्रेरणा, छोरा हृदयेन्द्र र भाञ्जा पार्थव छिरिसकेपछि पारसले प्रहरीलाई हुत्याउँदै अगाडि बढेको दृश्य भिडियोमा  देखिन्छ ।

Next Post

पत्रकार पुडासैनीकाे आत्महत्यापूर्व डोरी किनेको पसल भेटियो

२ भाद्र २०७६, सोमबार १३:३३
चितवन– आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क […]