नेकपा बैठक : राजनीतिक प्रतिवेदन छिट्टै प्रकाशन गरिने

८ असार २०७६, आईतवार ०७:२६

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको हो। राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

‘अघिल्ला बैठकले अध्यक्षद्वयलाई अन्तिम सम्पादनका लागि जिम्मेवारी दिएको थियो’ उनले भने, ‘अध्यक्षद्वयले सम्पादनको प्रक्रिया र विषयका बारेमा बैठक समक्ष जानकारी दिनुभयो।’

दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रम चलिरहेको छ। त्यसैगरी बैठकले पार्टी एकताका बाँकी कामलाई पनि छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ।

‘एकीकरणका महत्वपूर्ण काम सम्पन्न भएपनि केही काम बाँकी छन्, बाँकी कामलाई शीघ्र सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको छ’, महासचिव पौडेलले भने, ‘एकताका बाँकी गृहकार्य सम्पन्न गर्दै केन्द्रीय कार्यसमितिका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय निकाय र विभागको गठनलगायत विषयलाई जतिसक्दो टुङ्ग्याउने निर्णय भएको छ।’

बैठकले एकता बाँकी काम सम्पन्न गरी समग्र पार्टी पङ्क्तिलाई केन्द्रिकृत योजनाअन्तर्गत परिचालित गर्ने निर्णयसमेत गरेको छ। बैठकले सरकारको काम प्रभावकारी ढंगबाट अघि बढेको ठहर गर्दै थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमणका बारेमा जानकारी गराएका थिए। त्यस्तै मुलुकका समसामयिक विषयमा समेत बैठकमा छलफल भएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव पौडेल सहभागी थिए। पार्टी प्रवक्तासमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ भने पार्टी कामको शिलशिलामा उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी थिएनन्।

Next Post

सेवा प्रवाहमा समस्या : विप्लवका कार्यकर्ताद्वारा गाउँपालिकामा आगजनी

८ असार २०७६, आईतवार ०७:२६
कालिकोट – कालिकाेट जिल्लाकाे  नरहरिनाथ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले  आगजनी गरेका छन् । चन्द समुहका कार्यकर्ताले मंगलबार राति १ बजेतिरको समयमा गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा आगजानी र तोडफोड गरेका हुन् । आगजनीबाट असारे चटारोका भुक्त्तानि हुनै लागेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । […]