काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमलाई उप चुनाव लडाएर संसद प्रवेश गराउने विषय नेकपाभित्र आजभोलि प्राथमिकतामा पर्न छाडेको छ । केही समयअघि नेता गौतमलाई डोल्पामा उपचुनाव मार्फत सांसद बनाउने विषयमा आन्तरिक संवाद सुरु भएको थियो । आफू सांसद बन्न इच्छुक रहेको कुरा नेता गौतमले यसअघि नै सचिवालयको बैठकमा व्यक्त गरेका थिए । त्यो विषयमो बैठकमा छलफल पनि भएको थियो । तर उनलाई चुनावमा उठाउने नउठाउने विषयमा अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन ।
डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर नेता गौतम उपनिर्वाचनमार्फत संसदमा आउन चाहन्छन् । बुढा हाल पर्यटन राज्यमन्त्रीसमेत छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बुढासँग एक्लाएक्लै भेट गरेर बामदेवलाई चुनाव लडाउने विषयमा छलफल समेत गरिसकेका छन् । यस्तो भेटमा सांसद बुढाले आफूले पार्टीको निर्णय स्वीकार गर्ने बताइसकेका छन् ।
तर नेकपाको सचिवालयका एक सदस्यका अनुसार पछिल्लो समय बामदेवको चाहनाभन्दा पनि प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकीकरण सचिवालयको प्राथमिकतामा छन् ।
‘हिजो (बुधबार) सचिवालयको बैठकमा बामदेव कमरेडको विषयमा खासै छलफल भएन । आज (बिहीबार) को बैठकमा पनि उहाँको भन्दा पार्टी एकताको विषयमा छलफल बढी केन्द्रित हुन्छ । हामीले सबै तहका सङ्गठनको एकीकरण नटुङ्ग्याउँदासम्म नेताकार्यकर्तामा अन्यौलता देखियो । अहिले हामी साङ्गठनिक एकीकरणको मापदण्डबारे छलफलमा केन्द्रित छौँ । आज नै प्रदेशको नेतृत्वबारे सकभर टुङ्ग्याउने गरी छलफल गर्दै छौँ । बामदेव कमरेडको विषयमा पछिल्लो समय खासै छलफल भएको छैन । छलफल होला उहाँको विषयमा पनि तर अहिले प्राथमिकता साङ्गठनिक एकीकरण नै हो ।’ ती नेताले भने– ‘यसअघिका बैठकमा वामदेव कमरेडलाई चुनाव लडाउने विषयमा सचिवालयमा छलफल नभएको पनि होइन भएको हो । उहाँ चुनाव लड्दा जितको सुनिश्चताको विषयमा पनि छलफल भएको हो । डोल्पा नै किन ? भन्ने विषयमा पनि छलफल भएको थियो । उमेर, स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै डोल्पा कठिन हुन सक्छ । अलि सहरी क्षेत्रबाट चुनावमा उठ्दा सजह होला भन्ने दोस्रो विकल्पको सुझाव पनि दिएका हौँ । तर उहाँको चाहना डोल्पा नै छ । जे भए पनि अब निर्णय होला ।’
अध्यक्षद्वयले छिट्टै निर्णय गरिदिए हुन्थ्यो भन्ने पक्षमा नेता गौतम छन् । उनी त्यसैअनुरूपको लबिङमा पनि छन् । आफू निकटका नेता कार्यकर्ताहरूसँग नेता गौतमले पार्टीले छिटै निर्णय गरिदिए चुनावको तयारी सुरु गर्ने बताउँदै आएका छन् । पार्टीले औपचारिक निर्णय गरिदिए कात्तिकमा चुनाव गर्ने गरी छलफल भएको थियो । तर शीर्ष नेताहरूले व्यस्तताको कारण देखाउँदै नेता गौतमको चाहनालाई टार्ने गरेको सचिवालयका एक नेताले बताए ।
डोल्पा भूगोलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो । सकेसम्म कात्तिकभित्रै चुनाव भए चुनावी प्रचारमा मौसमले साथ दिने र त्यसभन्दा ढिला भए उच्च हिमाली भेगमा रहेको डोल्पामा चिसोले चुनावी कार्यक्रम प्रभावित हुने गौतम आफू निकटका नेताहरूसँग बताउँदै आएका छन् ।
‘उहाँ डोल्पाबाट चुनाव लड्ने भन्ने विषयमा सबैतिर हल्ला भइसकेको छ । सचिवालयले अहिलेसम्म डोल्पाबाट चुनाव लडाउने वा नलडाउने भन्ने विषयमा कुनै औपचारिक निर्णय गरेको छैन । उहाँको चाहना डोल्पाबाट नै चुनाव लड्ने भन्ने छ । पार्टीले निर्णय गर्न जति ढिला गर्छ, मौसमको कारण उहाँको चुनाव लड्ने सम्भावना कम हुँदै जान्छ । अहिले उहाँले तयारी पनि गरिरहनुभएको छ चुनावको । तर पार्टीले निर्णय गर्न ढिला गर्दा उहाँलाई अलि तनाव सिर्जना भएको छ ।’ नेता गौतम निकट एक नेताले रातोपाटीलाई बताए ।
यद्यपि नेता गौतम मौन छन् । उनी पार्टीको औपचारिक निर्णय नहुँदासम्म बोल्न चाहेनन् ।
उनको सांसद बन्ने चाहना पछाडिको कारण के ?
तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम काँग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । नेकपाका सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्रै सांसद छैनन् । श्रेष्ठले गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
त्यसपछि नेता गौतमले अन्तर्घातका कारण आफूले चुनाव हार्नुपरेको बताएका थिए । नेता गौतमले यस्तो बताएपछि तत्कालीन एमालेले छानविन समिति पनि बनाएको थियो । तर उक्त समितिको विस्तृत प्रतिवेदन भने बाहिर आएन ।
नेता गौतम अन्तर्घात गरेर आफूलाई हराउने नेता–कार्यकर्तालाई चुनाव जितेरै देखाउन चाहन्छन् । ‘उहाँ (बामदेव) मा चुनाव जितेरै सांसद हुने मन छ । यो अन्तर्घात गर्नेलाई जवाफ पनि हुन्छ भन्ने उहाँको बुझाइ छ ।’ नेकपा सचिवालयका एक सदस्यले रातोपाटीसँग भने ।
नेकपाका उच्च स्रोतहरूले बताएअनुसार गौतम प्रतिनिधिसभाकै सदस्य बन्नका लागि इच्छुक हुनुमा उनमा प्रधानमन्त्री बन्ने अपेक्षाले पनि काम गरेको छ । मन्त्री हुन राष्ट्रियसभाको सदस्य भए पनि हुन्छ तर प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाकै सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । ‘भविष्यमा प्रधानमन्त्रीको सम्भावना हुन आफू पनि दौडमा रहन सकियोस् भनेर उहाँले प्रत्यक्ष चुनाव लडेर संसदमा प्रवेश गर्ने मन बनाउनु भएको छ ।’ बामदेव निकट मानिने तत्कालीन एमालेका एक नेताले बताए ।
तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले एक पटक संसदमै तत्कालीन एमालेभित्र आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाएको, अब शीर्ष नेतामध्ये एक जना रहेको र उनी पनि भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । त्यसपछि एक पत्रिकालाई दिएको अन्तरवार्तामा नेता गौतमले पनि आफू भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।
बुढाले राजीनामा नदिने भन्ने हल्ला मात्रै
पर्यटन राज्यमन्त्रीसमेत रहेका सांसद बुढाले राजीनामा दिन अस्वीकार गरेको भन्ने हल्ला निराधार रहेको वामदेव निकट एक नेताले बताए । ‘उहाँ (मन्त्री बुढा) ले कतै पनि भन्नुभएको छैन राजीनामा दिन्न भनेर । मिडियामा आएको हल्ला मात्रै हो । त्यो सत्य होइन । पहिला पार्टीले औपचारिक निर्णय गर्नुपर्यो । त्यसपछि उहाँले राजीनामा दिनुहुन्छ । यसमा उहाँ आफैँ सहमत हुनुहुन्छ । डोल्पाबाटै चुनाव लड्ने भन्नेबारे छलफल भएको हो । अन्यत्रबाट चुनाव लड्ने भन्ने विषयमा पनि छलफल कतै भएको छैन ।’ ती नेताले बताए ।
सांसद बुढा सुरुमा राजीनामा दिएर बामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका र उनी गौतमको पक्षमा माहोल बनाउने भन्दै जिल्ला गएर फर्केपछि मतदाताको दबाबका कारण राजीनामा नदिने निष्कर्षमा पुगेका समाचार विभिन्न मिडियामा आएका थिए ।
तत्कालीन एमाले निकट स्रोतका अनुसार बुढालाई नेता गौतमको चाहनामा राज्य मन्त्री बनाइएको हो । त्यसअघि बुढाले गौतमकै चाहनामा डोल्पाबाट चुनाव लड्ने अवसर पाएका थिए । ‘बुढाजीलाई सिट खाली गर्ने शर्तमा राज्य मन्त्री बनाइएको रहेछ । त्यसैअनुसार उहाँले पार्टी निर्णय मान्नु भन्नुभएको छ ।’ नेकपाको उच्च स्रोतले भन्यो । संसद सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री पदमा बस्न पाइने संवैधानिक व्यवस्था छ । पछिल्लो समय मिडियामा आएजस्तो हल्ला सत्य नभएको बताए ।
विरोध पनि छ
सांसद बुढालाई हटाएर नेता गौतमलाई चुनाव लडाउन थालिएको भन्दै कतिपय वृत्तमा यसको विरोध पनि सुरु भएको छ । गत साउन १८ गते डोल्पाका केही युवाहरूले आफ्ना सांसद बुढालाई पदबाट राजीनामा गराउने खेल भइरहेको भन्दै आपत्ति जनाएका थिए । उनीहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृत्वको ध्यानाकर्षण पनि गराएका थिए । नेता गौमतले भने यस्तो विरोधमा पार्टीभित्रकै आफू विरोधी नेताहरूको हात रहेको आशङ्का गरेका छन् ।
सांसद बुढाले २०७४ को प्रतिनिधिसभाको चुनावमा फराकिलो मतले काँग्रेस उम्मेदवारलाई पराजित गरेका थिए । बुढाको पक्षमा ११ हजार सात ६१ मत आउँदा काँग्रेस उम्मेदवार अंगदकुमार बुढाले तीन हजार एक सय ६६ मत मात्रै पाएका थिए । बुढा २०७० को दोस्रो संविधानसभामा पनि डोल्पाबाट निर्वाचित भएका थिए ।