किन भयाे सरकार र केसी पक्षबीचको वार्तामा ढिलाई ?

९ श्रावण २०७५, बुधबार १४:२०

काठमाडौं–डाक्टर गोविन्द केसीको मागका सम्बन्धमा  सरकारी वार्ता टोली, विज्ञ र  सम्बन्धित सरोकारवालासँगको परामर्शमा जुटेपछि दुई  पक्षीय वार्तामा ढिलाई भएको छ ।  मंगलबार साँझ केसी र सरकारी पक्षबीच मागका सम्बन्धमा सामान्य छलफल भएकोमा आज बिहान ९ बजे पुनः बैठक बसेर  सहमतिमा पुग्न प्रयास गरिने बताइएको थियो ।

तर,  खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली  अहिले केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्शमा जुटेको हो ।

सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विज्ञहरुसँग गराएको छलफलका आधारमा वार्ता समितिले थप गृहकार्य गरेको हो ।

विज्ञहरुको सुझाव र डा केसीको मागका आधारमा संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनका बुँदाहरु तयार गरेर औंपचारिक वार्ता हुने तयारीमा सरकारी वार्ता टोली छ ।

सरकारी वार्ता समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आफूहरु परामर्शमा रहेको तथा वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बन्दै गएको बताए ।

केसी पक्षका वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज सिंहले मंगलबार बिहान वार्ता बस्ने भनिएपनि अहिलेसम्म बस्न नसकेको बताए । उनले आफूहरु सरकारी वार्ता टोलीको खबरको प्रतिक्षामा रहेको उनले बताए ।
मंगलबार साँझ डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच भएको वार्ता  सकारात्मक भएको जनाइएको थियो ।

केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच उक्र  भएको वार्तामा   केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेको बताइएको छ । केसीले सो अडान छाडेसँगै  संवाद सकारात्मक रुपमा अघि बढेपछि कसरी सहमतिमा पुग्ने भन्नेमा सरकारी टोली परामर्शमा जुटेको हो ।

सिंहदरबारमा भएको छलफलमा डाक्टर केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा गर्नुपर्ने संशोधनको लिखित बुँदमा नै दिएको छ ।  उक्त लिखित प्रस्तावमा  १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्नेलगायतका बुँदाहरु समेटिएको जनाइएको छ ।

Next Post

सरकारलाई ‘घेराबन्दी’ गर्न राजपा पनि मैदानमा : समर्थन फिर्ता लिने तयारी

९ श्रावण २०७५, बुधबार १४:२०
काठमाडौँ – विपक्षी नेपाली काँग्रेसको घेराबन्दीमा पारिरहेको बेला अब राष्ट्रिय जनता पार्टी नेपालले पनि सरकारप्रति कडारुपमा प्रस्तुत हुने हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत समेत दिएको राजपा नेपाल सरकारबाट समर्थन फिर्ता लिनुको साथै आन्दोलन गर्ने तयारीमा समेत गरिरहेको छ । राजपा नेपालले […]