प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय समितिको बैठक शुरु

१६ श्रावण २०७५, बुधबार १९:२९

काठमाडौं–प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्ने विषयमा निर्णय लिन संसदीय सुनवाई समितिको बैठक शुरु भएको छ ।

सिंहदरवारस्थित समितिको कार्यलयमा अनौपचारिक बैठक शुरु भएको समितिका सदस्य योगेश भट्टराईले बताए ।

अनौपचारिक बैठकमा काँग्रेसलाई सर्वसम्मत निर्णयका लागि फकाउने प्रयास भएको छ ।

नेकपा जोशीको विपक्षीमा छ ।

समितिका सदस्यहरुबीच जोशी प्रकरणमा मध्यमार्गी बाटो निकाल्ने विषयमा अनौपचारिक छलफलमा छन् ।

जोशीको नाम अनुमोदन गर्न बैठक तीन बजेका लागि बोलाइएपनि झण्डै एक घण्टापछि मात्रै बैठक सुरु भएको हो । समितिका सदस्यहरु ढिला गरी त्यहाँ पुगेका थिए ।

बैठक शुरु हुनु अगाडि समितिका सदस्य रहेका नेकपाका सांसदहरु योशेश भट्टराई, सुरेन्द पाण्डे, पूर्णाकुमारी सुवेदी, निरु पाललगायतले संसदका महासचिव मनोहरप्रसाद भट्टराईसँग भेट गरेका थिए ।

समितिको बैठकपछि निर्णय सुनाइने छ । जोशीको सुनुवाई गत विहीबार नै सकिएको थियो । तर, समितिका सदस्यहरुबीच विवाद भएपछि निर्णय सुनाउन ढिलाई भएको थियो ।

संघीय संसद्को संयुक्त बैठक र संयोजन समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम १५ मा संसदीय सुनुवाइ समिति गठन गर्नेसम्बन्धी व्यवस्था छ ।

सुनुवाइसम्बन्धी कार्यविधिअनुसार समितिलाई सुनुवाइका लागि ४५ दिनभित्र काम सक्नुपर्ने व्यवस्था गरिएको छ ।

जसमा प्रस्तावित व्यक्तिको नाम स्वीकृति भएर नियुक्ति हुनका लागि ५१ प्रतिशत सदस्यहरू अनिवार्य हुनुपर्छ ।

नियम २६ को उपनियम ५ मा समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट अस्वीकृत नभए अनुमोदन भएको मानिनेछ तर समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएमा समितिले सनुुवाइका क्रममा प्राप्त भएको कारबाही, कागजात र अन्य विवरण सम्बन्धित निकायमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा, २९२ मा संसदीय सुनुवाइसम्बन्धी व्यवस्था गरेको छ ।

समितिमा १५ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

जनताले मतदान गरेका जनप्रतिनिधि वा जनतामा सार्वभौमसक्ता सम्पन्न राष्ट्रहरूले खासगरी अदालतका न्यायाधीश, राजदूत नियुक्ति लगायतका विषयमा संसदीय सुनुवाइ गर्ने गरेको पाइन्छ ।

शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बनेका प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम समितिबाट अनुमोदन गर्ने व नगर्ने विषयमा विवाद भएको देखिएको छ ।

त्यसैबीच समिति सदस्य निरु पालले आफुलाई वानेश्वरमा पेस्तोल तेसाइएको बताएकी छिन् ।

प्रहरी प्रधान कार्यालयले सांसद पालको सुरक्षाका लागि पीएसओ खटाएको छ ।

सांसद पालले सुरक्षाको माग गर्दै सभामुखलाई जानकारी गराएकी थिइन् ।

सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताएको छ ।

तर, वानेश्वरमा सांसदमाथि नै पेस्तोल तेर्साएको समाचार बाहिर आएको छ ।

मंगलबार साँझ सडकमा निस्किएका बेला आफूलाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर धम्की दिएको सांसद पालको दावी छ ।

 

Next Post

2075-04-02

१६ श्रावण २०७५, बुधबार १९:२९