कालिकोट- नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्टले उडान गरेको जेट विमानको आयु कम भएको बताए । कम्युनिष्टको एकताबाट नेपाल सरकारका प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई व्याङ्गे गर्दै शाहीले भने, ‘थोत्रो विमान जतिवेला पनि दुर्घटना हुन सक्छ । वर्तमान सरकार अति जोखिममा रहेको छ ।’ सोमबार नेपाल विद्यार्थी संघ कालिकोटद्वारा आयोजित कार्यक्रममा सम्वोधन गर्दै महासचिव शाहीले सो कुरा बताएका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगे पनी कांग्रेस कार्यकर्ताहरु हरेस खान नहुने उनले प्रस्ट पारे । ‘कांग्रेस पार्टीको भबिस्य अझै सुनौलो छ ।’ महासचिव शाहीले भने, ‘पार्टीभित्र पुर्ण एकताबद्ध बनेर संगठन निर्माणमा लागे भोलिको दिनमा कांग्रेसको बिजयलाइ कसैले रोक्न सक्ने छैन ।’
कांग्रेस निकटका तरुणले पार्टीभित्रका झिनामसिना कुरामा नलागेर पार्टी निर्माणमा सक्रिय भएर लाग्न शाहीले निर्देशन दिए । कार्यक्रममा कांग्रेस उपसभापति शंकर उपाध्याय, सहसचिव दमन शाही, प्रवक्ता नगेन्द्र बिष्ट, सदस्य अम्मलराज शाहीलगायत नेताले संगठन निर्माणमा सबै लाग्नु पर्ने बताएका थिए । नेबिसंघ कालिकोटका अध्यक्ष नेत्र शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।