१० महिनामा ५९% बजेट खर्च : अब दैनिक साढे आठ अर्ब बगाउनुपर्ने

१ जेष्ठ २०७५, मंगलवार १०:०६

काठमाडौं -बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै व्यापक नीतिगत सुधार गरेको सरकार चालू आर्थिक वर्ष ०७४/७५ मा पनि खर्च बढाउन भने असफल हुने देखिएको छ । आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी हुँदा ५९ प्रतिशत मात्र बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा चालू खर्च ७० प्रतिशत भइसकेको छ भने पुँजीगत खर्च भने ४० प्रतिशत मात्र भएको छ ।

वित्तीय व्यवस्थातर्फको बजेट खर्च ३८ प्रतिशत छ । सरकारले यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । १० महिनामा ७ खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च गरेको सरकारले अब दुई महिना बाँकी रहेको अवस्थामा ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ । जुन व्यावहारिक रूपमा सम्भव छैन । यस हिसाबले हालसम्म सरकारले दैनिक १ अर्ब ५० करोड बजेट खर्च गरेको छ । अबका दुई महिनामा दैनिक ८ खर्ब ५७ अर्ब खर्च गर्नुपर्नेछ ।

अघिल्लो आवमा कुल ७८.५१ प्रतिशत बजेट खर्च भएको थियो । त्यसमध्ये पुँजीगत खर्च ६५.५२ प्रतिशत मात्र थियो । चालू खर्च ८३.६५ प्रतिशत थियो भने वित्तीय व्यवस्थातर्फको खर्च ८५.८३ प्रतिशत थियो ।

बजेटको मध्यावधिक समीक्षाले चालू आवको अन्त्यसम्म १० खर्ब ८२ अर्ब ९९ करोड बजेट खर्च हुने अनुमान गरेको छ । त्यसमध्ये चालूतर्फ ७ खर्ब ३८ अर्ब ९४ करोड, पुँजीगततर्फ २ खर्ब ३४ अर्ब ६२ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ९ अर्ब ४२ करोड खर्च हुने अनुमान अर्थ मन्त्रालयको छ । हालसम्मको बजेट खर्च मध्यावधिक समीक्षामार्फत संशोधित अनुमानको भने करिब ७० प्रतिशत हो ।

फेरि पनि दोहोरिँदै छ असारे विकास
तथ्यांकअनुसार चालू खर्च सन्तोषजनक अवस्थामा छ । तर, पुँजीगततर्फ भने आगामी दुई महिनामा ६० प्रतिशत रकम खर्च गर्नुपर्ने अवस्था छ । त्यसकारण चालू आवमा पनि असारे विकास मोडल नै दोहोरिनेछ । नेपालमा बजेट सक्नका लागि जेठ र असारमा धमाधम काम हुँदा कामको गुणस्तर र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ ।

किन भइरहेको छैन पुँजीगत खर्च ?
पूर्वअर्थसचिव शान्तराज सुवेदी नेपालमा पुँजीगत खर्च हुन नसक्नुको वास्तविक कारण पत्ता लगाउन ठूलै अनुसन्धानको आवश्यकता देख्छन् । ‘अर्थ मन्त्रालयबाट पुँजीगत खर्च कसरी बढाउन सकिन्छ भनेर हरसम्भव प्रयास भएको छ,’ उनले भने, ‘तर, त्यसले नतिजा देखिएन । अर्थ मन्त्रालयका अनुसार स्रोत यकिन नभईकनै बजेट विनियोजन गर्ने, कार्यान्वयनको पूर्वतयारीविना नै बजेट माग्ने र विनियोजन गर्ने प्रवृत्तिले समस्या निम्त्याएको हो । ठेक्कापट्टाको काम ढिला सुरु गर्ने, परियोजनामा अख्तियारी ढिला पठाउने, काम सम्पन्न भएकोमा पनि भुक्तानी ढिलो गर्ने प्रवृत्तिले पुँजीगत खर्च कम हुने गरेको हो ।

स्रोत नपुगेपछि २ खर्ब घटाइएको थियो बजेटको आकार
चालू आर्थिक वर्षको बजेट निर्माण गर्दा १ खर्ब ३ अर्ब रुपैयाँ अघिल्लो आवबाट बचत भएर आउने अनुमान गरिएको थियो । तर, त्यसो नभई उल्टै ४८ अर्ब ६१ करोड बजेट घाटा भएको छ । त्यस्तै, बहुपक्षीय दाताबाट प्राप्त हुने भनिएको ३३ अर्ब रुपैयाँ बजेटरी सपोर्टसमेत प्राप्त नभएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसरी यो वर्ष कुल बजेटको १४ दशमलव ४१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब ३२ करोड रुपैयाँ स्रोत अभाव भएको मन्त्रालयको भनाइ छ । त्यसो हुँदा मध्यावधिक समीक्षामार्फत बजेटको आकार पनि करिब २ खर्ब रुपैयाँ घटाएर १० खर्ब ८२ अर्ब ९९ करोडमा सीमित गरिएको थियो ।

स्थानीय र प्रदेशमा गएको बजेटले चालू खर्च प्रतिशत बढी
चालू आवमा सरकारले स्थानीय तथा प्रदेशमा पठाएको बजेटले संघीय बजेटमा चालूतर्फको खर्च प्रतिशत बढाएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । यस वर्ष केन्द्रबाट प्रदेशमा २ खर्ब २५ अर्ब र प्रदेशमा ७ अर्ब १४ करोड रुपैयाँ अनुदानका रूपमा विनियोजन भएको थियो । यो रकम हस्तान्तरण भइसकेको छ । यो रकम हस्तान्तरण हुनेबित्तिकै संघीय बजेट खर्च भएको मानिन्छ । नयाँ पत्रिकाबाट

Next Post

जनताले खोजेका कुरा हामीले पूरा गर्न सकेका छैनौँ : रास्कोट नगरपालिका प्रमुख बराल

१ जेष्ठ २०७५, मंगलवार १०:०६
कालिकोट–कालीकोट जिल्लाका साविकका सिपखाना, फुकोट र स्युना गाविस मिलेर रास्कोट नगरपालिका बनेको हो। यस नगरपालिकाको कुल जनसंख्या १६ हजार २७२ रहेको छ। यस नगरपालिकाको कुल क्षेत्रफल ५९.७३ वर्ग किलोमिटर रहेको छ। नौ वडा रहेको यस नगरपालिकाका प्रमुखमा माओवादी केन्द्रबाट काशीचन्द्र बराल छन्।  पत्रकारितासमेत गरेका बरालको जन्म साविकको फुकोट गाविस– ९, […]