कालिकोट – कर्णालीमा पहिलाे पटक स्थानीय सरकारले संचालन गरेकाे रेडियाेमा आक्रमण भएकाे छ । कर्णालीकाे कालिकाेट त्यसैमा पनि दुरदराजकाे पलाँतामा संचालनमा आएकाे रेडियाेमा आक्रमण भएकाे हाे । पलाँता गाउँपालिकाेकाे थिर्पुमा रहेकाे रेडियो पलाँता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरिएकाे छ ।
ताेडफाेड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १८ गते राति रेडियोमा दादागीरी शैलीमा आएका पलाँता गाउँपालिका ९ थिर्पुका जगदिश पूर्वेले ताेडफाेड गरेका हुन । उनलाइ प्रहरीले आइतबार पक्राउ गरेको हो।
रेडियो पलाँता एफएमले आफ्नाे समाचार नबजाउने गरेको भन्दै पूर्वेले मदिरा सेवन गरी रेडियोभित्र प्रवेश गरी मिक्सर, माइक, टेबुल, कुर्सी र स्टेशनरी समान तोडफोड गरेको स्टेशन म्यानेजर सुमन बमले बताए । ‘मदिरा सेवन गरेर रेडियो तोडफोड भएको छ ’ उनले भने, ‘पूर्वेलाई आइतबार बिहान प्रहरी पक्राउ गरेको छ।’ गाउँपालिका रेडियो तोडफोड गरेको सूचना प्रहरी समक्ष आएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको प्रहरी चौकी थिर्पुका इन्जार्ज असई कमला मल्लले बताइन्। ‘आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ’ उनले भनिन्।
रेडियो पलाँता एफएम तोडफोड गर्नेलाई कारवाहीका साथै क्षतिपूर्तिको माग गर्दै पलाँता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम र रेडियाेका स्टेशन म्यानेजर सुमन बमले जिल्ला प्रहरी कार्यालय निवेदन दिएका छन्। जनताकाे रेडियाेमाथि यसरी आक्रम गर्नेलाइ कानुनी उपचार गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । अध्यक्ष बमले एक विज्ञप्ती जारी गर्दै रेडियाेमा अमानविय चरित्र देखाउने पूर्वेविरूद्द कडा भत्सर्ना गरेका छन् ।