धनबहादुर क्षेत्री
जुम्ला- तिला गाउँपालिका ६ सुडीगाउँका स्थानीय ३ घन्टा हिँडेर स्वास्थ्य उपचार गर्न बाध्य छन्।
साबिकको घोडेमहादेव गाविस १ र २ तथा हालको तिला गाउँपालिका ६ का स्थानीयलाई स्वास्थ्य चौकीसम्म पुग्न ३ घन्टाभन्दा बढी हिँड्नुपर्छ। सामान्य बिरामी हिँडेरै स्वास्थ्यचौकीसम्म जाने गरे पनि गम्भीर प्रकृतिका बिरामी निकै समस्यामा पर्ने गरेको स्थानीय रामबहादुर रावतले बताए। राज्यले स्वास्थ्य उपचारको पहुँच तल्लो तहसम्म पुर्याउने बताउँदै आए पनि यहाँका नागरिकले सिटामोल लिन पनि घन्टौं हिँड्नुपर्ने बाध्यता छ।
हिउँदको समय भारी हिमपातका कारण बाटो बन्द हुँदा यहाँका नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुने गरेका छन्। बालबालिकाको खोप समेत अवरुद्ध हुने गरेको रावतले बताए। ‘यहाँ सामुदायिक स्वास्थ्य इकाइको माग गरेका छौं। तर सुनुवाइ हुन सकेको छैन,’ उनले दुखेसो पोखे, ‘एउटा सिटामोल लिन ३ घन्टा हिँड्नुपर्दा बिरामीको अवस्था कस्तो होला?’
गाउँमा महामारी फैलिएको खण्डमा झन् ठूलो समस्य उत्पन्न हुने अर्का स्थानीयवासी हर्कबहादुर रावत बताउँछन्।
झाडापखालाको औषधि जीवनजल, टाउको दुखाइको ब्रफिन, सिटामोल र पेट दुखेको औषधि मेडिकलबाटै किनेर राख्ने गरेका छन् उनीहरुले। स्वास्थ्यचौकी घोडे जानुभन्दा सदरमुकाम खलंगा गएर उपचार गराउनु सहज हुने गरेको स्थानीयको भनाइ छ।
सुडीगाउँ मात्र होइन तिला गाउँपालिकाको रारालिही स्वास्थ्यचौकी बाहेक सबै स्वास्थ्य संस्थामा जान न्युनतम २ देखि ३ घन्टासम्म हिँड्नुपर्छ। भौगोलिक बनावट नमिलेका कारण यहाँका नागरिकको स्वास्थ्य दिनानुदिन खस्कँदै गएको हो।
यहाँका अधिकांश स्थानीय गाउँमै पाइने जडिबुटीको प्रयोग गर्छन्। स्वास्थ्य संस्थामा पाइने औषधिको विश्वास मान्दैनन्। स्वास्थ्यचौकी जाँदा स्वास्थ्यकर्मी भेटिने, नभेटिने निश्चित नहुने र भेटिएको खण्डमा पनि औषधि पाउन मुस्किल पर्ने गरेकोले घरेलु औषधीको प्रयोग बढेको छ।
तिला गाउँपालिका १ र २ बाहेक सबै वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार हुन सकेको छैन। स्वास्थ्य संस्थामा नियमित गर्भजाँच, सुत्केरी गराउन जाने र स्वास्थ्य संस्थामा पुग्दा समेत औषधि अपुग हुने समस्यले स्थानीय ग्रसित छन्।
प्रत्येक वडामा सबैलाई समान दुरी पर्ने गरी स्वास्थ्य संस्थाको प्रबन्ध मिलाउन उनीहरुको माग गर्दै आएका छन्। स्वास्थ्य खवरपत्रिकाबाट