यसरी हुँदैछ रोल्पामा प्रचण्डसँग विप्लवको भिडन्त

७ असार २०७४, बुधबार १४:१९

रोल्पा– स्थानीय निर्वाचन खारेजी अभियानमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो जननी मान्ने थबाङमा गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको खबरले तरङ्ग ल्याएको छ । दलबलसहित काङ्ग्रेससँग संयुक्त रुपमा गाउँपालिका प्रमुखदेखि वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेका आफ्ना कार्यकर्ताहरुलाई नेकपाले ‘दलाल संसदीय व्यवस्थाको पक्षपाति’ घोषणा गरेको कुराले तरङ्ग झनै थपेको छ ।

जलजला पहाड सेरोफेरोका साविकका तीन गाविसलाई मिलाएर बनाइएको जिल्लाकै सानो गाउँपालिका थबाङमा प्रमुखमा काङ्ग्रेसको सहयोगमा र पालिकाका पाँच मध्ये चार वडामा अध्यक्ष र सदस्यसम्मको स्वतन्त्र प्यानल बनाएर नेकपा स्थानीय निर्वाचनमा होमिएको छ । एउटा वडा अध्यक्षमा नेकपा र एमाले दुवैले काङ्ग्रेसलाई सघाएका छन् । उनीहरु सबैलाई नेकपाको जिल्ला कमिटीले दलाल घोषणा गरेको छ ।

थबाङ गाउँपालिकामा माओवादी केन्द्रबाट वीरबहादुर घर्ती, नेकपा–काङ्ग्रेस गठबन्धनबाट नेकपाका अमित घर्ती र एमालेका हितबहादुर रोका मैदानमा उत्रिएका छन् । उपप्रमुखमा माओवादीबाट रामकिरिणी रोका, नेकपा–काङ्ग्रेस गठबन्धनबाट श्रीकुमारी रोका र एमालेबाट जाना रोका छिन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार दिएका भक्तबहादुर घर्तीले भने उम्मेदवारी फिर्ता लिए ।

रोचक र विशेष महत्व राख्ने कुरा त के छ भने थबाङमा माओवादी केन्द्र, काङ्ग्रेस र एमालेले आ–आफ्नो चुनाव चिन्ह अंकित टिशर्ट, टोपी लगाएर भोट मागिरहेका छन्, भने नेकपाका कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवारीमा ‘एकीकृत जनक्रान्ति’ लेखिएको टिशर्ट लगाएर मतदातासँग भोट मागिरहेका छन् । थबाङमै महाधिवेशन गरेर एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको नेकपाले स्थानीय निर्वाचनमा सहभागी थबाङका आफ्ना कार्यकर्तालाई दलाल घोषणा गर्नु र पार्टीबाटै दलाल घोषणा गरिमाग्दा पनि कार्यकर्ताहरुले एकीकृत जनक्रान्ति लेखिएको टिसर्ट लगाएर भोट माग्दै हिँड्नुलाई संयोग मात्रै मान्ने कमै छन् ।

नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिकामा स्थानीय निर्वाचनमा भाग लिएको देश विदेशमा चर्चा भइरहँदा रोल्पाको वास्तविकता यस्तो छ की, धेरै स्थानमा नेकपाका कार्यकर्ताले निर्वाचनमा भाग लिएका छन् । त्यसमा कतै काङ्ग्रेसको चिन्ह लिएर त कतै स्वतन्त्र चिन्हमा निर्वाचनमा भाग लिएको कुरा हिजो आज टोलटोलमा चर्चाको विषय बनेको छ ।

कसरी लियो नेकपाले निर्वाचनमा भाग ?

स्थानीय तहको पुनर्संरचनाको प्रारम्भिक प्रस्तावमा थबाङ केन्द्र थिएन । थबाङ जनताले सदरमुकाममा आएर धर्ना दिए, संघर्ष गरे । र, थबाङ केन्द्र हुने गरी साविकका उवा र मिरुल गाविस मिसाएर गाउँपालिका बन्यो । त्यो संघर्षमा थबाङ्गी एकढिक्का थिए । नेतृत्व नेकपाका नेता जयप्रकाश रोका ‘प्रताप’ले गरेका थिए । जयप्रकाश थबाङमा नेकपाको नेतृत्व गर्छन्, बलियो प्रभाव राख्छन् ।

आफ्नै संघर्षबाट प्राप्त थबाङ गाउँपालिकाको निर्वाचित प्रतिनिधि चयनका लागि जब निर्वाचन प्रक्रिया सुरु भयो, नेकपाका थबाङका कार्यकर्ता दोधारमा परे । आफैले संघर्ष गरेर ल्याएको गाउँपालिकाको नेतृत्वमा आफै निर्वाचित भएर नेतृत्व गर्ने वा पार्टीले लिएको खारेजीको लाईनमा उभिएर आगामी पाँच वर्षका लागि नेतृत्व गुमाएर बस्ने ।

सन्तोष बुढा यसैबीचमा थबाङ पुगे । उनले उम्मेदवारी दिनु पार्टीको लाईन विपरित हुने घोषणा गरिदिए । पाका नेता जयप्रकाश रोकाले पनि सन्तोषलाई नै साथ दिए । नेकपाका पाका र युवा नेताहरुबीच ध्रुवीकृत भयो –पाका बहिस्कार गर्नुपर्ने र युवा उपयोग गर्नुपर्नेमा उभिए ।
पार्टी नेतृत्व विशेषगरी थबाङ निवासी नेकपाका पोलिट्व्यूरो सदस्य सन्तोष बुढाको स्थानीय तहको निर्वाचन खारेज गर्नुपर्ने निरन्तरको निर्देशन, निर्वाचनलाई उपयोग गरेर आफ्नो नीति कार्यक्रम लागू गर्नुपर्छ भन्ने स्थानीय कार्यकर्ता र जनताको भावनाबीच नेकपाका कार्यकर्ताहरुले एउटा मध्यमार्गी बाटो निकाले–नेकपा माओवादी केन्द्रभित्रैबाटै स्वतन्त्र उम्मेदवारी सार्ने र भोट दिएर जिताउने । त्यसो हुँदा देखिदा स्वतन्त्र उम्मेदवार देखिने, तर विजयी गराएपछि आफू अनुकुल गाउँपालिका चलाउन सकिने उनीहरुले निष्कर्ष निकाले ।

Next Post

कम्पनीद्वारा सुरुङ खन्न ढिलाई, मेलम्चीको पानी दशैँमा नआउने

७ असार २०७४, बुधबार १४:१९
काठमाडौं—मेलम्ची खानेपानी आयोजनाको टनेल कार्य सक्न अझै ९ महिना लाग्ने देखिएको छ। हाल इटालीको ठेकेदार कम्पनीले दैनिक ११ मिटर मात्र टनेल खनिरहेको छ। उसले काममा थप तीब्रता नदिने हो भने दशैँसम्म काठमाडौंमा पानी आउने भनेर प्रचार गरिएको विषय झुटो सावित हुने सम्बन्धित सरकारी अधिकारीले उल्लेख गरेका छन्। अक्टोबर (दशैँ) सम्म […]