२१ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुलाई बोलाएर चुनावको तयारीबारे चासो राखेकी छन् ।
भण्डारीले बिहीबार साँझ कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेतालाई शीतल निवासमा बोलाएकी थिइन् । उनले ०७४ माघ ७ भित्र तीन वटा चुनाव गर्नु पर्ने संवैधानिक बाध्यता भएपनि दलहरु गम्भीर देखिएको भन्दै आक्रोस पोखिन् । ‘दलहरुबीच सहमति पनि भएको छैन, चुनावको तयारी पनि भएको छैन’ भन्दै उनले केही भएको छ भनेर प्रश्न गरेकी छन् ।
भेटमा सहभागी एक नेताका अनुसार चुनावको तयारी नभएकोमा राष्ट्रपति भण्डारीमा केही गम्भीरता र केही आक्रोश देखिन्थ्यो । उनले अघि पनि पनि प्रमुख दल र सबै दललाई छलफलमा बोलाएर चुनावको तयारीमा जुट्न सल्लाह दिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले दलीय सहमतिले मात्र चलखेलहरुलाई रोक्न सक्ने भन्दै ध्यानाकर्षण गराएकी छिन् ।
प्रमुख दलहरुका शीर्ष नेताहरुले भने आ-आफ्नो अडान राखे । प्रधानमन्त्री प्रचण्डले सरकारले आफ्नो तयारी गरिरहेका बताए । अब २४ गते संसद सुचारु हुने भन्दै उनले चुनावसम्वन्धी विधेयक, संविधान संशोधन सबै अघि बढ्ने बताए ।
प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरे । संशोधन अघि बढाउने सरकारको तयारीलाई ‘काँसी जान कुतीको बाटो’को संज्ञा दिँदै उनले संशोधन फिर्ता लिएर चुनावमा जानु पर्ने बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुले मधेसीलाई पनि सामेल गरेर जाऔं भनेको बताए । उनले प्रदेश सभा नै नबनेको अवस्थामा कसरी सहमति लिने भन्दै प्रश्न गरे ।
राप्रपा अध्यक्ष कमल थापाले भने यहि अवस्थामा अघि बढ्न नसक्ने भन्दै दलहरुबीच नयाँ सहमति चाहिने र त्यसका लागि सम्वाद आवश्यक रहेको बताएका छन् ।
बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले २४ गते एमालेले संसद खोल्नु पर्ने बताए । त्यसपछि संविधान संशोधन, चुनावसम्वन्धी विधेयक टेबल हुने भन्दै उनले महाअभियोगलाई अघि बढाउन कांग्रेस तयार भएर आउनु पर्ने बताए ।
संशोधन टेबल भएपछि दलहरुबीच छलफल गरेर सहमतिमै अघि बढ्न सकिने उनले बताएका छन् ।