कानुन बन्यो कार्यान्वयन भएन

४ माघ २०७३, मंगलवार ०३:४७

काठमाडौँ। फूलमाया सानी छँदा उनकी आमाले मौसम अनुसारको तरकारी फलाएर धेरै पैसा पाउने आशामा घर–घरमा तरकारी बेच्ने गर्थिन् । तरकारी बेच्ने क्रममा एक दिन गाडीको ठक्करबाट उनकी आमाको ज्यान गयो । त्यसपछि शहरमा राम्रो काम पाउने आशामा उनी गाउँकै एकजना दिदीसँग काठमाडौँ आइन् । १३ वर्षको उमेरमा काठमाडौँ छिरेकी उनले सुरुमा गलैँचा कारखानामा काम गरिन् ।

त्यो काम गर्न कठिन, पैसा पनि निकै कम । त्यसपछि उनले दोहोरी साँझमा नाच्न सुरु गरिन् । यसको एक वर्षपछि उनले विवाह गरिन् । जीवन खुशी छ जस्तो लाग्थ्यो । दुवै जना काम गर्थे, घर खर्च पनि चलेकै थियो । विवाहपछिको एक वर्षमा छोराको जन्म भए सँगै दुःखका दिन सुरु भए । ‘श्रीमानले छोरो मेरो होइन भन्न थाले । नाच्दा/ नाच्दै कसको छोरो पाएकी भन्दै उसले हरेक दिन रक्सी खाएर कुट्ने,’ उनले थपिन्, ‘मलाइ मात्रै होइन बालक छोरालाई समेत कुट्न थाल्यो ।’ दोहोरी साँझमा काम गरेकै कारण हरेक दिन यसरी नै शारीरिक र मानसिक पीडा भोग्न फूलमाया बाध्य भईन् । उनको श्रीमानले यही बहाना बनाएर उनलाई छोडे ।

उनले भनिन् ‘पढाउने मान्छे नहुँदा राम्रो काम गर्न सकिएन, जीवन गुजारा त गर्नु नै छ, घरमामात्र हैन काममा पनि सजिलो अवस्था छैन्, घरमा आएका पाहुनाले समेत शारीरिक सम्बन्ध राख्न खोज्छन्, नमान्दा रक्सीको बोतलले हान्छन्, कतिले त खाँदै गरेको चुरोटले पोल्ने गर्छन् ।’

यस्तै समस्या छ, नुवाकोटकी जीवनी परियारको पनि । आर्थिक समस्याले गर्दा केही काम पाईन्छ की भन्ने आशामा काठमाडौं आएकी उनी केही समयमा नै नयाँ बसपार्कमा रहेको एक होटलमा गीत गाउने काम सुरु गरिन्, पैसाको अभावमा नै काम गरेकी उनलाई काम गरेको पाँच महिना बितिसक्दा समेत होटल मालिकले पैसा दिएन । उनले काम छाडिन् । १६ वर्षकी उनले बाध्य भएर काठमाडौंमै अर्को दोहोरी साँझमा गीत गाउन सुरु गरिन् । ‘साँझदेखि गीत गाउन सुरु गर्‍यो, मध्यरातसम्ममा स्वर नै सुकिसकेको हुन्छ त्यसमा पनि आफूलाई राम्रो लागेको र सजिलो गीत गाउन पार्इंदैन । आएका पाहु“नाको माग कस्तो हुन्छ सोही अनुरुप गीत गाएर उनीहरुलाई खुसी बनाउनु पर्ने बाध्यता छदैछ’ उनले भनिन् ।

गीत गाएर मासिक सात हजार रुपैयाँ कमाउने उनलाई पनि मालिकले काम गर्नका लागि नियुक्ति पत्र दिएका छैनन । आर्थिक समस्या भएपनि परिवारले दोहोरी साँझमा गीत गाउने काम गरेको थाहा पाएपछि नराम्रो काम गरेको भन्दै कहिलेकाँही घर जाँदा राम्रो व्यवहार गर्दैनन् ।

कक्षा आठसम्म मात्र पढेकी उनले मनोरञ्जन क्षेत्रमा काम गरेकाले नै हिंसाको सिकार बन्नुपरेको बताउँछिन् । भनिन ‘परिवारले पनि सहयोग नगर्दा निकै दु : ख लाग्छ ।’ काम सबै राम्रो नै हुन, तर समाजले हेर्ने नराम्रो हेराइका कारण मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरी हिंसामा पर्नुपरेको उनको अनुभव छ ।

यस्तै समस्या भोगिरहेकी छन् दोलखाकी रेश्मीले पनि । उनले तीन वर्षदेखि काठमाडौंको एक होटलमा गीत गाउने काम गर्छिन् । घरमा परिवार धेरै भएपछि पढ्न नपाएको उनले बताइन् । पढ्न र काम गर्न पाउने आशले उनी शहर आइन् । होटलमा गीत गाउने काम पाइन् । तर काम लगाउने वहानामा कहिले मालिक त कहिले होटलमा आउने ग्राहकबाट दिनहुँ जस्तै हिंसाको सिकार बन्नु परेको छ ।

‘होटलमा आउने ग्राहकले कति राम्रो गीत गाएको भन्दै शरीरका विभिन्न भागमा सुमसुम्याउने र गालामा चुम्न समेत पछि पर्दैनन्’ उनले भनिन् । नमान्दा उल्टै नानाथरी अपशब्द बोल्ने, गाली गर्ने र कामबाटै निकाल्ने धम्की समेत दिने गरेको गुनासो उनले गरिन् । यस्तै

समस्याले गर्दा उनले दुई वर्षको अवधिमा तीनवटा ठाउँ फेरिसकिन् । यस्तो काम गरेको भन्दै हरेक दिन परिवारले काम छोड्न दबाब दिन्छन् । उजुरी गर्दा काम नपाउने डरले धेरै किशोरीले हिंसा सहेर बस्ने गरेको उनले बताईन् । गरिवीका कारण र अशिक्षाले गर्दा मनोरञ्जन क्षेत्रमा धेरै किशोरी लागेका छन् ।

महिलाका निम्ति महिला मञ्च नेपालको संस्थापक अध्यक्ष सृजना पुन मगरले भूकम्पपछि भएको सामूहिक बसाईले र बेरोजगारीले गर्दा सिन्धुपाल्चोक, धादिङ, नुवाकोटलगायतका जिल्लामा किशोरीमाथि हिंसाको घटना वढी भएको बताईन् । ‘हिंसा बढेपछि काम खोज्दै मनोरञ्जन क्षेत्रमा आउने किशोरी बढेका छन् ।’

यस क्षेत्रमा काम गर्ने सबै किशोरीको समस्या उस्तै छ । हाल काठमाडौँ उपत्यकामा झण्डै २५ हजार डान्सबार छन् । ती डान्स बारमा करीव ५० हजार श्रमिक महिलाले काम गरिरहेका छन् । मनोरञ्जन क्षेत्रमा काम गर्ने ९३ प्रतिशतले शारीरिक मानसिक वा अन्य तरीकाबाट हिंसाको सिकार बन्नु परेको छ ।

सरकारले क्याविन रेष्टुरेन्ट, डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पिडन नियन्त्रण गर्न २०६५ सालमा जारी गरेको निर्देशिकाले व्यवसाय दर्ता र सञ्चालनको शर्त समायावधि तथा कार्यस्थलमा हुने शोषण यसका लागि कारवाही व्यवस्था गरेपनि यसको कार्यान्वयन नहुँदा यस क्षेत्रमा काम गर्ने श्रमिकले शोषणमा पर्नु परेको यथार्थ छ ।

व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका अध्यक्ष रञ्जु कुमारी झाले निर्माण गरिएका नियम कानुन प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समस्या देखिएको बताउनुहुन्छ । सभापती झा भन्नुहुन्छ ‘कानुन कार्यान्वयन गर्नका लागि सबै निकाय सक्रियतापुर्वक लाग्नुपर्छ ।’

सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाका लागि आचारसंहिता निर्माण गरी जारी गर्नुभएको थियो । त्यसमा मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई रात्रिकालिन सेवा, काम गर्दा सवारी साधनको व्यवस्था गर्नुपर्ने, सम्मानजनक व्यवहार गर्नुपर्ने, उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने लगायत व्यवस्था गरेको थियो । तर सर्वोच्च अदालतले जारी गरेको निर्देशिका प्रभावकारी रुपमा कार्यान्वयनमा आएको देखिदैन ।

Next Post

त्रि.वि. स्ववियु निर्वाचन : दौडधुपमा विद्यार्थी नेता

४ माघ २०७३, मंगलवार ०३:४७
सुर्खेत । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको करिव एक दशक बित्यो । हरेक वर्ष स्ववियु निर्वाचन गर्ने भन्दै त्रिभुवन विश्वविद्यालय प्रचार–प्रसार गर्छ तर उक्त निर्णय औपचारिक रुपमा मात्र सिमित भएको छ । चालु आर्थिक वर्षको फागुनमा स्ववियु निर्वाचन गर्ने विश्वविद्यालयले निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयमा गत २०६५ […]

You May Like