सुर्खेत । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको करिव एक दशक बित्यो । हरेक वर्ष स्ववियु निर्वाचन गर्ने भन्दै त्रिभुवन विश्वविद्यालय प्रचार–प्रसार गर्छ तर उक्त निर्णय औपचारिक रुपमा मात्र सिमित भएको छ ।
चालु आर्थिक वर्षको फागुनमा स्ववियु निर्वाचन गर्ने विश्वविद्यालयले निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयमा गत २०६५ साल देखि स्ववियु चुनाव भएको छैन । करिव नौँ वर्षको अन्तरालमा चुनावको तयारी गरेको त्रिविले गरेको छ ।
आगामी फागुनमा हुने स्ववियुु निर्वाचनमा आफ्नो पार्टी निकट विद्यार्थीहरुलाई कसरी जिताउन सकिन्छ भनेर राजनीतिक दलहरु र तिनका भातृ संगठनहरु लागिपरेका छन । उनिहरुको एकमात्र मिसन स्ववियु चुनाव जित्ने रहेको बुझ्न कठिन छैन ।
स्ववियु निर्वाचन हुन अझै तीन महिना बाँकी छ यद्यपि प्रत्येक विद्यार्थीहरुका भातृ संगठन र माउ पार्टीहरुका नेताहरु बीच अबको चुनावमा जीत कसरी आफ्नो पोल्टामा पार्ने भन्ने विषयमा व्यापक बहसहरु चलिरहेको छ ।
विद्यार्थी संगठनहरु मात्र होइन विभिन्न पार्टीहरुमा कुन प्यानललाई उम्मेदवार बनाउने भन्ने विषयमा आन्तरिक रुपमा छलफल भई रहेको नाम उल्लेख नगर्ने सर्तमा एक नेताले बताए ।
दलहरु आफ्नो प्यानलको शुभचिन्तक तथा सदस्यलाई कुन पदमा उम्मेदवार बनाउन उपयुक्त होला भन्ने बारेमा आन्तरिक रुपमा छलफलमा व्यस्त छन् । कसलाई सभापति पद दिने , सचिव पदको उम्मेदवार कसलाई बनाउने र कोषाध्यक्षको उम्मेदवार कसलाई दिदाँ जीत सुनिश्चित हुन्छ भन्नेमा जुटेका स्रोतले जनाएको छ ।
सुर्खेतमा विभिन्न दलहरुले आफ्नो गुटका विद्यार्थीहरुलाई जिताउनका लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आएका छन् । झन्डै एक दशकदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी फागुन १४ मा गर्ने निर्णय भएको छ । तर स्ववियु नियमावलीको विषयलाई लिएर विद्यार्थी संगठनहरूले अडान नछाडेपछि चुनाव सम्पन्न हुने कुरामा संशय पैदा भएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएको ७ वर्ष नवित्दै स्ववियु निर्वाचन सम्पन्न गरिसकेको छ तर त्रिभुवन विश्वविद्यालयले दशक वित्दा समेत स्ववियु निर्वाचन गर्न सकेको छैन । अहिले पनि त्रिभुवन विद्यालयमा स्ववियु निर्वाचन हुन्छ या हुदैँन भन्दै विद्यार्थीहरु शंका गरिरहेका छन् । यता नेकपा एमाले जिल्ला कमिटीका सचिव मोहनसिंह बडुवालले शैक्षिक मुद्धाहरु सरोकारवाला बिच पु¥याउनका लागि अनेरास्ववियुलाई निरन्तर परिचालन गरिरहेको बताए ।

