जहाज पुगेपछि कोटबाडा सम्झँदा

२ फाल्गुन २०७३, सोमबार ०७:४४

माेहन मैनाली:काठमाडाैं । २०७३ साल माघ २९ गते अनलाइनमा र त्यसको भोलिपल्ट फागुन १ गते नेपालका दैनिक पत्रिकामा हत्तपत्त समाचार नआउने जिल्ला कालीकोटको एउटा समाचार छायो। त्यो थियो— कालीकोटको कोटबाडामा बनाउन थालेको ३१ वर्षपछि विमानस्थल बनिसक्यो। पर्यटनमन्त्री जीवनबहादुर शाही (उनी तालिमले पाइलट हुन्) समेत चढेको हवाइजहाज त्यो विमानस्थलमा ओर्लियो। विमानस्थलमा हवाइजहाज हेर्न आएका कोटबाडा वरपरका मान्छेको घुइँचालो लागेको थियो।
त्यो घुइँचोमा, त्यो उत्सवमा मैले त्यो विमानस्थल बनाउने ठेकेदार, मजदूर र ती मजदूरसँग नजिक भएका कोटबाडाका केही गाउँले भेटिन्छन् कि भनी खोजेँ। मेरो यो काम निरर्थक हो भन्ने जान्दाजान्दै पनि। मैले त्यसो गर्नुको कारण के थियो भने मैले खोजेका ती मानिस विमानस्थलको डिलै मुन्तिर थिए। मैले उनीहरुलाई त्यस उत्सवमा खोज्नु निरर्थक किन थियो भने उनीहरुलाई यस्तो उत्सवको वास्ता थिएन। उनीहरु यो दिन आउनुभन्दा १५ वर्ष अघि अर्थात् २०५८ साल फागुन १२ गते गोली हानेर मारिएका थिए। उनीहरुका लाश विमानस्थलभन्दा तल्तिर पुरिएका थिए।
यो समाचार पढेपछि मैले २०७२ साल जेठ २५ गते सम्झिएँ जुन दिन हामी धादिङको जोगीमारा, हेक्राङ पुगेका थियौं। हेक्राङको थुम्कोमा रहेको सालघारीको बीचमा बनाइएको एउटा स्मारक सामुन्ने। त्यस स्मारकको मार्बलको सेतो भित्तामा कोटबाडाको विमानस्थल बनाउनेमध्येका २२ जना ती स्वर्गबासीको नाम कुँदिएको छ। तीमध्ये १७ जनाका घर त्यही स्मारक वरपर छन्। बाँकीका घर मकवानपुर, गोरखा र काभ्रेमा पर्छन्। उनीहरुमध्ये केहीका नाम धमिलो भइसकेका थिए। उनीहरुसँगै मारिएका बाँकी १३ जनाको नाम त उनीहरुका आफन्तका हृदयमा मात्र होला।

यो स्मारकले खासमा त्यसमा नाम कुँदिएका मानिसका भत्किएका घरको सम्झना गराउँथ्यो।
अघिल्लो दिन हामी त्यस स्मारकको अलिकति उत्तर–पश्चिमको घमाइलो फाँटमा रहेको एउटा घरमा पुगेका थियौं जसमा स्मारकमा नाम कुँदिएका एकजना मानिस बस्थे। उनको परिवार गरिव भए पनि सुखी थियो। उनी मारिएपछि त्यो छिन्नभिन्न भयो। उनी मारिएको केही समयपछि उनकी जहान घरबाट हिँडिन्। उनी कहाँ गइन भन्ने कुरा घरकालाई मात्र होइन माइतीलाई पनि धेरै वर्षसम्म थाहा भएन।
उनी मारिएको अलिपछि उनकी आमा मरिन् । मरिन् के भन्नु ! उनले आफैँले आफैँलाई मारिछन्। उनका छिमेकीहरूले हिजो भनेका थिए– छोरा मारिएकोमा उनले औधी पीर मानेकी थिइन्।
हिजो हामी त्यस घरमा पुग्दा घरमुली अर्थात् कालिकोटमा मारिनेका बाबु भेटिएनन्। उनले पनि घर छाडेछन्। बुढेसकालमा बस्नेखानेको उति टुङ्गो छैन रे उनको।
मारिने मानिसका दुईजना छोरा थिए। तीमध्ये एकजनालाई आफन्तले चितवनमा लगेर पढाएका थिए। अर्कालाई कालिकोटमा मारिएका जोगीमाराका अरु मानिसका छोराछोरीसँगै एउटा संस्थाले काठमाडौंमा ल्याएर पढाएको थियो। केही वर्षपछि खर्च जुटाउन नसकेकाले तिनलाई गाउँ फर्काइदिएको थियो। धन्न तिनकी एउटी फुपूले भरथेग गरेकाले तिनले पढ्न भने पाएछन्!
हाम्रो यो यात्रा अलि अनौठो खालको थियो। त्यसको छोटो कहानी छ, धीर भएर पढिदिनुहोला।
कोटबाडामा मारिएका जोगीमाराका १७ जना कामदारका परिवारलाई म, मेरा साथी ध्रुव बस्नेत र काजी थापाले २०५९ साल असारमा भेटेका थियौँ। त्यसपछि उनीहरुबारे मैले तयार गरेको रिपोर्ट हिमाल खबरपत्रिकामा छापिएको थियो। त्यो रिपोर्ट मैले आजसम्म लेखेको सबैभन्दा लामो थियो। त्यसपछि मैले उनीहरुका बारेमा एउटा भिडियो डकुमेन्ट्री बनाएको थिएँ ‘जोगीमाराका ज्यूँदाहरु’ जुन डकुमेन्ट्री काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा देखाउँदा म र त्यसका आयोजक तथा शुभचिन्तक झण्डै थुनिनु परेको थियो।

लडाइँमा नलाग्दा पनि मारिएका मानिसका बारेमा रिपोर्टिङ गर्ने मेसोमा म कोटबाडालगायत कर्णालीका धेरै ठाउँ र त्यसभन्दा पश्चिमको बाजुरा पुगेको थिएँ। दोहोर्याएर, तेहेर्याएर मैले गरेका यिनै यात्रामा भेला भएका सामग्रीका आधारमा मैले ‘मान्ठा डराएको जुग’ नामक किताब लेखेको थिएँ। किताबका प्रकाशक फाइनप्रिन्टका साथीहरुले किताबको विज्ञापन गर्ने अनौठो काइदा निकाले— पाठकलाई यो किताब पढेर यसका बारेमा फेसबुकमा टिप्पणी गर्न लगाउने र यस्तो टिप्पणी गर्नेमध्ये केही पाठकलाई लेखक र प्रकाशकले घुमाउन लैजाने।
पाल्पाका साहित्यकार पूर्ण ढेंगा मगर, वुटवलका साहित्यकार गिरि श्रीस मगर, फाइनप्रिन्टका अजित बराल र म यसरी जोगीमारा पुगेका थियौँ। यस यात्रामा हामीले के थाहा पायौँ भने कोटबाडामा मारिएका केही मानिसका घर भुइँचालोले भत्काइदिएछ। केही परिवार आफन्त मारिएको पीडा भुल्न कोशिश गरिरहेका थिए।

दुईजना छोरा मारिएका ज्ञानबहादुरका कान्छा छोराका दुईजना छोरा जन्मेछन्। यसलाई ज्ञानबहादुरले चित्त बुझाउने मेलो बनाएका रहेछन्। आफ्नी श्रीमति बुद्धीसरा छोरा सम्झेर रुँदा उनले भन्ने गरेका रहेछन्— बाँसको घारीमा बाँसै उम्रियो। दुई भाइका ठाउँमा दुई भाइ नै आएका छन्। किन पीर गर्छ्यौ?
कुनै परिवारमा बाँकी बचेका छोराछोरी अलि ठूला भएछन्। ती कामका लागि विदेश जान खोज्दै थिए। तर त्यसो गर्ने पैसा नभएर घरमै अड्किएका थिए।
“मेरो नाम ? मेरो नाम मैले बिर्सिहालें। के भन्छ!” कोटबाडामा मारिएका दिल्ला प्रजाकी जहानलाई २०५९ सालमा मैले उनको नाम सोध्दा उनले यसै भनेकी थिइन्। एकछिन रोकिएपछि उनले भनेकी थिइन्, “मनकुमारी।”
मनकुमारीले धेरै पहिले अर्को बिहे गरीसकेकी थिइन्। मैले यसपालि दिल्ला र मनकुमारीका छोराछोरीका बारेमा सोधेँ। गाउँलेले बताए— जोन यहीँ छ, ६ मा पढ्छ।
मैले पहिले भेट्दा ऊ जोन भइसकेको थिएन, मंगले नै थियो। छोरी संगीता कसैले यहीँ छ भने कसैले धनगढी छ भने।

२०५९ सालमा हामीले भेट्दा मनबहादुर विक र उनकी जहान मनमाया साह्रै पिरोलिएका थिए। पुरानो घरमा बस्दा साँझ, दिउँसो, बिहान जति बेला पनि मृतक छोरा हिँडेको झझल्को लाग्यो भनेर उनीहरु जोगीमाराबाट फिस्लिङ बसाइँ सरेका थिए। मनबहादुर २०६४ सालमा ट्वाइलेटको छतबाट खसेर बितेछन्। उनकी जहान मनमाया फोक्सोको क्यान्सरले २०७१ सालमा बितिन रे। उनीहरुका दुईजना छोरा सानै छन्।

कोटबाडामा हवाइजहाज बसेको यस उत्सवमा मैले २०६० साल जेठमा म कोटबाडा पुगेको सम्झिएँ। कालीकोटको सदरमुकाम मान्मखाँडाचक्रबाट कोटबाडा जान साह्रै कहालीलाग्दो अस्थायी पुल तर्नुपर्थ्यो। त्यो पुल तरेर पारिपट्टि पुग्दा हामीलाई माओवादीले स्वतन्त्र रुपमा हिँड्न दिएनन्। उनीहरुका मान्छेका साथमा हामी कोटबाडा पुगेका थियौँ।
त्यहाँ पुगेर भेला गरेका जानकारीका आधारमा मैले कोटबाडा घटनाका बारेमा आफ्नो किताब ‘मान्ठा डराएको जुग’ मा यस्तो लेखेको रहेछुः
मान्छे मारिसकेपछि सेनाले गाउँलेलाई लास गाड्न आदेश दिएर गयो। अघिल्लो टोली हिँडिसकेपछि सेनाको मद्दती टोली आयो, जसमा ठेकेदार कुमारका भाइ पनि रहेछन् । उनले आफ्ना दाजु कहाँ बस्छन् भनेर सोधेछन्। “मारिहाल्यो नि। लास त्यही हो,” एकजना गाउँलेले भनेपछि उनी रोएछन्। हिँड्ने बेला उनले गाउँलेलाई बोलाएर ५०० रुपैयाँ दिएर भनेछन्, “मेरा दाइको लास छुट्टै गाडिदिनुहोला।”
कुमारको लास छुट्टै गाडिएको थियो। उनको लास हामी सुतेको ठाउँभन्दा मास्तिर विमानस्थलको पर्खालको पुच्छारमा गाडिएको थियो जुन पर्खाल उनी आफैंले ठड्याउन लगाएका थिए।
त्यसको भोलिपल्ट सेना फेरि फर्केर कोटबाडा आयो। गाउँलेलाई लास झिक्न लगायो र जीवनमा जहिल्यै पनि कुलो, बाटो, विमानस्थल बनाउने हतियार मात्र बोकेका, मान्छे मार्ने हतियार कहिल्यै पनि नबोकेका मजदुरका लासछेउ हतियार राखेर फोटो खिच्यो। पहिले सेना आउँदा भागेका माओवादी त्यसको भोलिपल्ट कोटबाडा आए। गाउँलेलाई फेरि लास निकाल्न लगाए। जीवनभर राजनीति नगरेका मजदुरका लासलाई कम्युनिस्ट झन्डाले बेरे र फोटो खिचे।
सेनाले कोटबाडामा मारिएका मानिसलाई मरणोपरान्त आतङ्ककारी बनायो! माओवादीले मरणोपरान्त कान्तिकारी बनायो!
म कोटबाडा पुगेका बेला युद्धविराम भएको थियो। त्यो युद्धविराम मानेका भए माओवादीले मलाई कोटबाडामा स्वतन्त्र रुपमा घुम्न दिनुपर्थ्यो तर उनीहरुले दिएनन्। बन्दै गरेको विमानस्थलको फोटो र भिडियो खिच्नै दिएनन्। मैले अप्ठ्यारोमा पारेपछि भने उनीहरुले जोगीमारासमतेका मजदूरसँगै पहिले काम गरेका मानबहादुर विष्टलाई त्यहाँ मारिएका मजदूरहरुको चिहान देखाउन लगाए।

हामी बसेको ठाउँभन्दा दुई कान्लातल्तिर पुगेर झाडीतिर देखाउँदै मानबहादुरले भने, “यहाँ भित्र छन् दसबाह्र वटा लास। व्यवस्थित चिहान बनाउन सकिएन। भलेटाको भलले चिहानमाथिको माटो बगाएर लैजाला भनेर निगालो लगाएका छौं।”
चिहानमाथि निगालो हुर्किसकेको थियो।
त्यसपछि अलि माथ्लो एउटा कान्लामा पुगेर उनले भने, “आठदस जना यहाँ खाल्डोभित्र छन्। एकजना ठ्याक्कै पूर्वका मामा, र बाँकी धादिङका।”
यो चिहान चाहिँ खोल्सीमा नपरेकाले त्यसमाथि निगालो रोप्नुपरेको थिएन।
माथि एअरपोर्टको पर्खालको फेदमा पुगेर उनले भने, “घरपति (मजदूर डेरा गरी बसेको घरका) केटा टेकबहादुरलाई त्यता राखेको छ । कुमार दाइलाई चाहिँ यता।”

आफू जुन कामका लागि कोटबाडा गएका थिए त्यसै मेसोमा मारिएका थिए मजदुरहरू। त्यो काम पूर्ण भएको र आफूले निकै मेहनत गरेको विमानस्थलमा जहाज बसेको कुरा ती मजदूरले थाहा पाएनन्। यो विमानस्थलमा ओर्लने र यहाँबाट उड्ने मानिसले चाहिँ यो विमानस्थल बनाउँदा ज्यान गुमाएका मानिसका बारेमा थाहा नपाउलान जस्तो छ।
मारिएका मानिसले केही थाहा पाउँदैनन् तर हामी ज्यूँदा पनि थाहा पाउनै पर्ने कुरा अर्थात् ज्यान गुमाएका ती मजदूर र तिनका परिवारका बारेमा बेखबर बसिरहेका छौँ। हामी ती मजदूरजसरी मारिएका त होइनौँ, जिउँदै छौँ तर आत्मा चाहिँ नभएका ज्यूँदा! त्यसैले हामीले सम्झनै पर्ने घटना र बिर्सनै नहुने मानिसलाई किन सम्झिराख्नु पर्यो र! नेपाल खबरबाट

Next Post

तत्काल चुनाव मिति नतोके जनदबाब : एमाले

२ फाल्गुन २०७३, सोमबार ०७:४४
काठमाडौं- प्रमुख प्रतिपक्षी एमाले सरकारले चाँडै चुनाव मिति नतोके आन्दोलनमा जाने भएको छ। पोलिटब्युरो बैठकले पारित गरेको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमा चुनाव सुनिश्चितताका लागि सरकारले ठोस कदम नचाले जनदबाबका विभिन्न विकल्प खोज्ने भनिएको छ। ‘संविधानले तय गरेको समयसीमा (२०७४ माघ ७) गते आउन १ वर्षभन्दा कम समय बाँकी […]

You May Like