शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

मिसन न्यूज ३० आश्विन २०७९, आईतवार १४:३९

काठमाडौं – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले अनलाइनखबरसँग भने ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

उपचारकै सिलसिलामा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको प्रसाईंले जानकारी दिए । वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।

Next Post

एमालेकाे कर्णाली प्रदेश संसदिय दलको नेतामा कंडेल

३० आश्विन २०७९, आईतवार १४:३९
सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको संसदिय दलको नेतामा यामलाल कंडेल चयन भएका छन् । एमाले कर्णाली प्रदेशको मंगलवार बसेको बैठकले कंडेलललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा (क) बाट कंडेल विजयी भएका थिए ।