काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दाबी गरेका छन् । ५० स्थानीय तहमा अझै बैंक पुग्न नसकेको विषयमा सोधिएको सांसदको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले चालू आर्थिक वर्षभित्रमा सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दाबी गरेका हुन् ।
मन्त्री खतिवडाले देशका ७५३ स्थानीय तहमध्ये ७०३ वटामा बैंकका शाखा स्थापना भइसकेको जानकारी दिँदै ५० वटामा बाँकी रहेको बताए । बाँकीमध्ये ३० वटामा चैत मसान्तसम्म र अरू बाँकी चालू आर्थिक वर्षको अन्त्यसम्म स्थापना हुने उनले जानकारी दिए ।
सबै स्थानीय तहमा बैंक स्थापनाका लागि आवश्यक पूर्वाधार नभएकाले बैंक पुग्न नसकेको मन्त्री खतिवडाले बताए । बैंकका लागि सुरक्षित भवन र सडकको सुविधा र सुरक्षा आवश्यक पर्ने बताए ।
कतिपय स्थानीय तहमा वर्षायाममा सडकको पहुँच नभएको र हाल निर्माणका क्रममा रहेकाले चालू आर्थिक वर्षको अन्त्यसम्म बैंकहरू स्थानीय तहमा पुगिसक्नेमा आफू विश्वस्त रहेको दाबी गरे ।