प्रकाशचन्द्र भट्टराई – प्रदेश नम्बर ६ को साविक कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित रारा ताल जान खोज्नु जो कसैको लागि पनि एउटा सपना हो । सानो तिनो योजनाले रारा पुग्न सकिँदैन । निकै टाढा र धेरै लामो यात्रा पछि मात्र पुग्न सम्भव हुन्छ । तर यात्रा जतिसुकै लामो र केही कष्टकर भएपनि राराको आँगनमा पुगेपछि सबै पिडाहरू भुलिन्छ । गत वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राराको आँगनबाट देशबासीको नाममा सम्बोधन गर्दै रारा महोत्सवको उद्घाटन गरेपछि राराको चर्चा देश भित्रबाहिर चल्यो । यही महोत्सवकै सन्दर्भमा एक पटक रारा पुग्नु जो कसैको लागि पनि चाहनाको कुरा हो ।
नेपालको सबैभन्दा सानो जिल्ला मुगुमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । यो ताल समुद्र सतहदेखि २,९९० मिटर उचाईमा अवस्थित छ । रारा जान कर्णाली राजमार्ग अन्तर्गतको मुगुको सदरमुकाम गमगढी नजिकैबाट सल्लेरी भन्ने स्थानसम्म सवारी साधनहरूबाट सजिलै पुगिन्छ । सल्लेरीमा सवारी रोकेर त्यहाँबाट पैदल करिब डेढ घन्टाको हिडाई पछि रारा पुग्न सकिन्छ । पैदल हिड्न झर्काे मान्नेहरूलाई घोडा चढीको सुविधा पनि छ तर घोडा चढ्दा कतिपय बेला ठगिन पनि सकिन्छ । माथिल्लो र तल्लो मिलीचौर हुँदै सल्लाघारीको बीचैबीच पैदल हिडेर रारा पुगेपछि बेग्लै किसिमको आनन्दको महशुस हुन्छ ।

यात्राको क्रममा भएको थकान, पिडा र हन्डरलाई राराले भुलाउँछ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजीत राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पु¥याएका छन् । रारातालको वरिपरि रारा राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
रारा पुगेर आउन काठमाडौं या पोखरा तथा अन्य शहरहरूबाट कम्तीमा पनि एक साताको समय छुट्याउनु पर्छ, जुन अधिकांश नेपालीहरूको लागि सम्भव हुँदैन । त्यसैकारण लामो योजना र प्रयास पछि मात्र राराको भ्रमण सम्भव हुन्छ ।
दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) जातको माछा पाइन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य पनि देखिन्छ । स्व.राजा महेन्द्र शाहले २०२० साल चैत १० गते यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए । राराको भ्रमण पछि तत्कालिन राजा महेन्द्रले ‘सुन्दरताको भण्डार सारा, के खनाया यसै रारामा, रारा की अप्सरा’ भनेर राराको वर्णन गर्दै शिलालेख समेत लेखेका थिए, जुन अहिले सम्म सुरक्षित छ । राजा महेन्द्रको भ्रमण पछि उक्त तालको नाम ‘महेन्द्र ताल’ नामाकरण भयो, यद्यपी अहिले राराकै नामले विश्वप्रख्यात छ ।
राराको बयान सुन्दा र यसको फोटो देख्दा लाग्छ, रारामा मान्छेहरूको भिड लाग्छ, तर स्वर्गको टुक्रा राराको सौन्दर्य अझै पनि धेरैले अनुभव गर्न पाएकै छैनन् । यति सुन्दर र मनमोहक रारा चारै तिरका ठुला पाहाड र सिस्ने र कान्जिरोवा हिमालको काखमा प्रायः एक्लै हुन्छ । पानीको छेवैसम्म सल्ला र धुपिका रुखहरू उभिएका, चारैतिर हराभरा तर पनि सुनसान छ, रारा । नजिकैको तल्लो मिलि चौरमा चरिरहेका करिब ३ दर्जन घोडा र त्यही घोडामा यात्रुहरूलाई चढाएर बेलुकाको छाक टार्ने पर्खाइमा रहेका बालबालिका सहितका मुगुबासीहरू एक्लो राराको साथी हुन्छन् अधिकांश दिनमा । रारा पुगेर आउन काठमाडौं या पोखरा तथा अन्य शहरहरूबाट कम्तीमा पनि एक साताको समय छुट्याउनु पर्छ, जुन अधिकांश नेपालीहरूको लागि सम्भव हुँदैन । त्यसैकारण लामो योजना र प्रयास पछि मात्र राराको भ्रमण सम्भव हुन्छ ।

सुर्खेतबाट कम्तीमा १२ घन्टाको निरन्तरको यात्रा कालिकोटको मान्म पुगिन्छ भने उक्त दिन मान्ममा बास बसेर भोलीपल्ट पुनः कम्तिमा १० घन्टाको निरन्तर गाडीमा यात्रापछि सवारी साधनको अन्तिम गन्तव्य मुगु जिल्लाको सल्लेरी भन्ने स्थानमा पुगिन्छ । त्यहाँबाट करिब डेढ घन्टाको घोडाचढी यात्रा पछि बल्ल राराको आँगनमा पुग्न सकिन्छ । राराको आँगनमा पुगेपछि लाग्यो रारासँग नेपालका अन्य कुनै पनि तालको तुलना नै गर्न सकिन्न । रारा त कति हो कति सुन्दर तै पनि पर्यटकको हिसावमा फेवा र भारतको नैनी तालको तुलनामा निकै नगन्य । यती राम्रो र सुन्दर तालमा किन यती थोरै मात्र पर्यटक पुग्छन ? जवाफ सहज र सटिक छ, बिकट मुगुको सुन्दर राराको प्रचार गर्ने र पर्यटक पु¥याउन पहल गर्ने काम राज्यस्तरबाट भएकै छैन ।
नेपालको सबैभन्दा सानो जिल्ला मुगुमा रहेको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज । र सानो निकुञ्जको काखमा सुतिरहेको छ देशकै सबैभन्दा ठूलो ताल, रारा । रारा राष्ट्रिय निकुन्जमा नेपालमा रहेका ८ सय ६७ प्रजातिका चराहरूमध्ये २ सय ३६ प्रजातिका पाईन्छन् । धेरैजसो भारत र तिब्बतहुँदै साइबेरिया ओहोरदोहोर गर्ने हाँसहरू पनि छन् । ति सबै पन्छीहरू रारामा जलक्रिडामा मग्न भएर बस्छन् । रारामा पाईने तीन प्रजातिका असला माछा संसारमा अन्त कतै पाईदैन । रंग बदलिरहने राराको कञ्चन पानीमा माछाको गतिबिधी नाङ्गो आँखाले नियाल्दा रारा छोड्नै मन लाग्दैन । करिब ५ घन्टाको पैदल यात्रामा तालको वरिपरि घुम्न सकिन्छ ।
सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै कालिकोटको नाग्माघाटबाट नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौर हुँदै सिस्नेरीसम्म पुग्न सकिन्छ । स्कारपियो, बोलेरो, टाटा सुमो गाडी र मोटरसाइकलमा सजिलै रारा पुग्न सकिन्छ ।
छिनछिनमै राराको चरित्रमा भैरहने प्राकृतिक फेरबदलले विहान सुर्य उदाउँदा ऐना झैं टलटल टल्किने, मध्यान्हमा मन्दमुस्कानसँगै हावासँग काव खेल्ने, साँझपख उत्ताउलिने, आकासमा बादल घुम्दा पौडी खेल्ने राराको विशेषता हो । विश्वकै सबैभन्दा अग्लो स्थान र विश्वमा कहिँ नपाईने उत्कृष्ट जातको असला माछाले पनि राराको महत्व बढेको छ । पर्यटकिय महन्वको मुर्माटप, चुच्चेमारा लेक, महादेव मन्दिर, विभिन्न थरीका गराँस तथा ऋतु अनुसार फुल्ने सयौं थरिका फुल, बाह्रै महिना हरियाली वनजंगल, गृष्मयाममा साईवेरिया क्षेत्रबाट आउने चरा, लोपोन्मुख काँडेभ्याकुर र रेडपान्डा, कालो भालु, कस्तुरी, मृग, बँदेल, चिर, डाँफे, कालिज जस्ता विभिन्न पशुपन्छिको वासस्थान हुनुले पनि राराको सोभा बढेको छ ।

यस अघि मोटरबाटोको सुविधा नहुँदा सुर्खेतबाट दुई साताको पैदल यात्रामा रारा पुग्न सकिन्थ्यो । तर अहिले मोटर चढेर जान चाहनेका लागि सुर्खेतबाट कालीकोट हुँदै सजिलैसँग रारा पुग्न सकिन्छ । त्यस्तै नेपालगञ्ज र सुर्खेतबाट हवाई उडानमा मुगुको ताल्चासम्म पुगिन्छ र ताल्चाबाट करिब २ घण्टा हिंडेपछि रारा पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै कालिकोटको नाग्माघाटबाट नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौर हुँदै सिस्नेरीसम्म पुग्न सकिन्छ । स्कारपियो, बोलेरो, टाटा सुमो गाडी र मोटरसाइकलमा सजिलै रारा पुग्न सकिन्छ । मोटर सजिलै जाने भएपछि अहिले रारा तालमा पहिले भन्दा अवलोकन गर्न जाने आन्तरिक नेपाली पर्यटकहरूको संख्या केही बढि भएको छ ।
भ्रमणबाट के निश्कर्ष निकाल्न सकिन्छ भने रारालाई विकासको पूर्वाधार मात्र चाहिएको छ, राराले हरियो डलर फलाउने क्षमता आफै राख्छ । योजना कार्यान्वयनको मात्र आवश्यकता छ राराले आफुमात्र होइन नेपाललाई नै संसार चिनाउन सक्छ । रारा भ्रमणमा सहभागी दमौलीको व्यास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदिप अधिकारी भन्नु हुन्छ– ‘रारा प्रकृतिको अनुपम उपहार हो, तर राज्यको उचित दृष्टि नपुग्दा राराको महत्व बढ्न सकेको छैन ।’
रारा सम्म पुग्ने बाटोको गुणस्तर सुधार्न सकेमा रारा जाने पर्यटकको संख्या बढ्न सक्ने अधिकारीको भनाई छ । भ्रमण दलका सदस्य गैससकर्मी राजेश्वर हड्खले पनि राराको सौन्दर्यको राज्यले नै प्रचार प्रसारको जिम्मा लिनु पर्ने बताउनु हुन्छ । राज्यले यसको उचित प्रचार प्रसार र प्रबद्र्धन गर्न सकेमा निलो राराले नै हरियो डलर फलाउन सक्ने क्षमता राख्ने हड्खलेको ठोकुवा छ । हड्खलेले भनें झै निलो रारा हरियो डलर फलाउने प्रतिक्षामा सिस्ने र कान्जिरोवा हिमालको काखमा लुटपुटिएर सुतिरहेको छ । दैनिक नेपालबाट


