कार्यकारी बागडोरमाथि हमला किन ?

१ पुष २०७७, बुधबार १७:२५

पवित्रकुमार शाही-
हाम्रो देशको संविधानले राष्ट्रको प्रमुख कार्यकारीको बागडोर प्रधानमन्त्रीको काँधमा सुम्पिएको छ । देशको प्रधानमन्त्रीलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले आमनागरिकको विचमा दिलाएको विश्वास र बाचा पुरा गर्नु पनि कर्तव्य हो । नागरिकको सामु गरेका प्रतिबद्धता पूरा गर्न कछुवा गतिले सम्भव हुँदैन । नेकपाभित्रको गन्जागोल अवसरबादी प्रवृतिको ठाडो प्रतिकार गर्नै पर्छ । त्यसैमा प्रमुख प्रतिपक्ष लगायतको झमेलालाई पछारेर विकास र निकाशको गतिलाई तिव्रता दिनु नै पर्छ ।

सरकारका हरेक योजनामा बाधा सृजना गर्ने, संविधानलाई कार्यान्वयन गर्न नदिने अवान्छित गतिविधिको भण्डाफोर गर्नै पर्छ । आफैले निर्माण गरेको सरकारलाई अपमान गर्ने र अविश्वास पैदा गराउनेलाई ठेगान लगाउनु पर्छ । पार्टीभित्र चरम गुटको खेती गरेर उल्टै गुट र टुटफुटको आरोप लगाउनेलाई समयमै उपचार गर्न जरुरी छ । जनताले दिएको मेन्डेटलाई थाति राखेर आफ्नो स्वार्थतिर उन्मुख हुने अपवित्र नियतले सरकारलाई अवरोध गर्नु राम्रो होइन । यस्ता खोले जनविरोधी गतिविधिलाई समयमै सरकारले हटाएर अगाडि बढ्नै पर्छ ।

वर्तमान सकारको बागडोर समालेका प्रधानमन्त्री केपी शर्मा ओलीको दिगो सोच र समृद्धिको सपनालाई घेराबन्दी गर्ने कार्य समय सान्दर्भिक छैन । समृद्ध नेपाल र सुखी नेपालीको सोच बोकेका कार्यकारी प्रमुखलाई प्रमाणविहिन आरोप लगाउनु अवश्य पनि ठिक होइन । व्यत्तिगत स्वार्थलाई शुन्यमा झारेर राष्ट्रको हितमा सतप्रतिशत अगाडी बड्ने प्रधानमन्त्रीलाई नानाथरीका झुट्टा आरोप लगाउनु अमानविय काम हो । राष्ट्र, राष्ट्रियता र जनताको लागि समृद्धिका पाईला चालेका प्रधानमन्त्री ओलीलाई पार्टिभित्रैको नेतृत्वले हेर्ने नजर बदलिनु पर्दछ । काँधमा देशको जिम्मेवारी र मस्तिष्कमा इमानदारी बोक्नु भएका ओलीको सपना जनता सामु साकार गर्न दिनु पर्दछ । ओलीको दृर्घकालिन सोच र दिगो विकासको सपनालाई ठेलमेल गर्नु जनताका निम्ति अस्वभाविक छ ।

सरकाले गरेका कार्यक्रम तथा योजना सहज वातावरणमा कार्यान्वयन गर्न दिनु पर्दछ । देशको विकास र समृद्धिका लागि प्रधानमन्त्रीले चालेका कदमको सबैले सकारात्मक ढंगले स्वागत गर्नु पर्दछ । तर, व्यत्तिगत स्वार्थ र गलत नियतले पक्कै पनि प्रधानमन्त्रीले कार्य सम्पादन गरेको हुने छैन् । देश र जनताका निम्ति सकारात्मक सोच, सुशासन सहितको पवित्र नियतमा जिम्मेवारी पुरा गर्न प्रधानमन्त्रीको पनि योभन्दा फरक नियति र शैली हुने छैन । नेकपाभित्रको कुर्चि खेलको जुहारी शैलीले समयमै खोज अनुसन्धान गरि आवश्यक सुत्र प्रयोग नगरे देशले बोकेको समृद्धि सपना अलपत्र पर्ने निश्चित जस्तै छ । पार्टीभित्र विगतको संसदिय र परम्परागत शैलीका गतिविधि देशलाई झन संकटमा पारेर थप अराजकतामा लैजाने सम्भावनाहरु बढेको देखिन्छन् । वर्तमान रुपमा देशको गतिविधि हेर्दा देशलाई अनिणर्यको बन्दिमा पार्ने खेलहरु भईरहेको देखिन्छ । नेकपाभित्र नै कार्यकारी अध्यक्ष प्रचण्ड र अर्का नेता माधवकुमार नेपालले सरकारलाई असफल गराउने काम गरिरहेका छन् ।

सरकारले चालेका सकारात्मक योजनालाई बाधा र अवरोध गर्ने काम गरिरहेको आम देशवासीलाई अवगत नै छ । देश निर्माणका निम्ति मुख्य बाधकको रुपमा पार्टीभित्रबाटै गलत नियतहरु प्रदर्शन भएको सार्वजनिक भईसकेको छ । यस्ता तमाम खालका चुनौति सरकार सामु कायमै छन् । त्यसैमा सरकार र देशलार्ई संकटको घेरामा राखेर लामो समयदेखि अवरोध गरिदै आएको संवैधानिक अंग हो । संवैधानिक अंग जस्तो क्षेत्र खाली रहँदा पटक–पटक संवाद, सहकार्य र सहभागिता गराउन खोज्दा पनि उल्टै बहिस्कार गर्ने कामहरु भएका थिए । उल्टै सरकारले देशमा सुशासन कायम गरेन भनेर हंगामा गरिएको थियो । तिव्र रुपमा भ्रष्टाचार भयो भनेर प्रचण्डले झुटको खेति गरेर आरोप पत्र तयार गरि अप्रमाणीत हल्ला फैलाएका थिए ।

पार्टीभित्र सुझाव सल्लाह दिनु एक फरक सन्दर्भ हो । तर प्रतिपक्षभन्दा पनि माथि उठेर विरोध र अराजकता मचाउने कामले तिव्रता पायो । राज्यले जनतालाई दिने संवैधानीक अंगका सेवा सुविधा दिनको लागि निकै असहजता पैदा भएको थियो । सुशासन, समावेशिकरण कायम गर्न र राज्यको शक्ति संतुलनमा समेत अवरोध सृजना गर्ने काम भएको थियो । जनताले दुई तिहाई नजिक मत दिएर निर्माण गरेको सरकारलाई असफलतातिर उन्मुख गराउने यस्तै व्यवहार हुन् । दुइ तिहाईको सरकारले संविधानले व्यवस्था गरेका संवैधानिक अंगलाई अलपत्र पारेको चौतर्फी आलोचना भईरहेको थियो । त्यसैमा प्रचण्ड र माधव नेपालले त खुलेरै असहयोग गरेको घाम जस्तै छरलंग छ ।

संवैधानिक अंगको कामलाई पूर्णता दिन नसकेको प्रतिपक्ष कांग्रेसको आरोप र नेकपाभित्रको आन्तरिक झमेलाले प्रधानमन्त्रीलाई सहज अवस्था थिएन । प्रधानमन्त्री ओलीको समावेशी र सकारात्मक प्रयासलाई पार्टीभित्रबाटै असफल गराउने खेल चल्दै आएको छ । संवैधानिक अंगको त एक प्रतिनिधि मुलक उदाहरण मात्र हो । यस्तै सरकारलाई असफलतातिर लैजान धेरै गतिविधि र षडेन्त्रहरु पार्टीभित्रै रचिएका छन् । प्रचण्डको ठाडो निर्देशनमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको संवैधानिक परिषदको बैठक बहिस्कारलाई एक उदाहरणको रुपमा हेर्न सकिन्छ ।

जनताको बहुदलिय जनवादलाई सीरोधार गरेर देशलाई समृद्धितिर लैजाने सोच गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता देखेर खुमलटार र कोटेश्वरमा जाल षडेयन्त्र बन्ने काम भईरहेका छन् । प्रधानमन्त्रीलाई अस्वस्थ देख्न चाहने र वहाँको राष्ट्रियतालाई कमजोर देख्न चाहाने फोहोरी खेलका खेलाडिहरु नेकपाभित्रै छन् । तत्कालीन देशको सबैभन्दा ठुलो पार्टी नेकपा एमाले दर्ज गरि नेकपा निर्माण गर्न दुई तिहाई नजिक मत प्राप्त गराउने पहिलो हात प्रधानमन्त्री ओलीकै हो । राजनेताको भुमिका निर्वाह गर्दै आउनु भएका एक कुशल राजनीतिक खेलाडी केपी शर्मा ओलीले आन्तरिक तथा बाह्य अवरोध छिचोल्दै देश निर्माणमा व्यस्त हुनुहुन्छ ।

सरकार निर्माण पश्चात प्रधानमन्त्री ओलीमाथि पटक–पटक कडा खाले अवरोध सामना गर्दै आउनु भएको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु उहाँको दरिलो र भरलाग्दो साहसिक निर्णयको एक परिणाम हो । नौ महिने शासनको बानी परेका र पारिएका यी अनुहारहरुले दिगो सरकार र दिगो विकास चाहादैनन् । प्रधानमन्त्री पद कुनै स्थायी जागिर होइन् । पाँच वर्षको कार्यकालमा प्रधानमन्त्रीले बोकेको मिसन, भिजन र योजनालाई निश्चित गन्तव्यको विन्दुमा पुगाएर सफलता हात पार्ने काम हो । देशको प्रमुख कार्यकारीलाई पार्टीभित्र र बाहिरको कहरबाट मुक्त गरेर समृद्ध नेपाल र सुखी नेपालीको सोच पुरा गर्न दिनु पर्दछ । देशलाई अनिर्णयको भुमरिमा फसाउने खेलहरु कुनै पनि क्षेत्रबाट नहोस् । सरकारले चालेका असल कदमलाई सबैले साथ दिएर अगाडी बढ्न जरुरी छ । लेखक नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव हुन् ।

Next Post

११९९ जनाको महाधिवेशन आयोजक कमिटी गर्ने ओलीकाे तयारी

१ पुष २०७७, बुधबार १७:२५
काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार बहाल रहेका ४४६ मा ५५६ जना थप गर्ने र अरु थप १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले […]