कालिकोट- कोटवाडा विमानस्थल सिलान्यास गरेको ३१ वर्षपछि शनिवार परीक्षण उडान भएको छ। पर्यटनमन्त्री जीवनबहादुर शाहीले माघ महिनाको मसान्तसम्म परीक्षण उडान गर्ने प्रतिबद्धता गरेका थिए। ३१ वर्षसम्म निर्माणधिन विमानस्थलमा यसरी जहाज अवतरण हुन्छ भन्ने स्थानीयले आसा मारिसके थिए। तर कालिकोटको आकाशमा एकाएक जहाज स्थानीयले देखे। तारा एरको जहाज सहज ढंगले विमानस्थलमा शनिबार परीक्षण उडान भयो।
३१ वर्षदेखि निर्माण थालिएको कोटबाडा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान गर्दा स्थानीय निकै दंग थिए। विमानस्थलको निर्माण कार्य पूरा भएपछि शनिवार परीक्षण उडान गरिएको हो।
विमानस्थल निर्माण निकै सुस्त गतिमा भएपनि हुम्लाका जनप्रतिनिधि जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेपछि काम तिब्र भएको थियो।
२०४२ सालमा निर्माण थालिएको विमानस्थलमा पहिलो पटक परीक्षण उडान हुनु कालिकोटका लागि खुसीको बिषय भएको स्थानीय गेणेश विष्टले बताए।
लामो समयपछि विमानस्थलमा परीक्षण उडान भएकोमा गाउँबाट सयौं मानिस हेर्न आएका थिए। परीक्षण उडान गर्ने पाइलटहरुलाई भब्य स्वागत समेत गरेको स्थानीय गजेन्द्रबहादुर शाहीले बताए।
विमानस्थल निर्माणको लागि करीब २५ करोड बजेट खर्च भईसकेको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ। पंचायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु भनेको दुःखको कुरा भएको जिल्लवासीको गुनासो थियो।
कर्णालीका मुगु,डोल्पा,जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भैसकेका छन्। कालिकोटमा पनि बल्ल परिक्षण उडान भएको छ।
कोटवाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जीनियर रत्नवहादुर श्रेष्ठले कोटवाडा विमानस्थल कर्णालीका अन्य जिल्लामा रहेका विमानस्थल भन्दा लामो र फराकिलो रहेको दावी गरे । उनका अनुसार विमानस्थलको लम्बाई ६ सय ९० मिटिर र चौडाई ४० देखि ६० मिटर छ । ज्याला विवादमा काम बन्द भएको कोटवाडा विमानस्थल निर्मााणको कामले कर्णालीकै नेता जीवनवहादुर शाही पर्यटन मन्त्री भएपछि तीब्रता पाएको हो । विमानस्थल बनेपछि कालीकोटका लालु, माल्कोट, रुप्सा, कुमालगाउ लगायतका ७ गाविसका स्थानीयलाई आवतजावत र सामान ढुवानीमा सहज हुनेछ । कर्णालीका अन्य चार जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाबासीले हवाइ जहाज चढ्न पाए पनि कालिकोटबासीको वर्षौ पुरानो जहाज चढ्ने धोको भने बल्ल पुरा हुने भएको छ ।