काठमाडाैँ–प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव सार्वजनिक गरेका हुन्। दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए।
किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताए। उनले भने,‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको छ ।’
काम गर्न सक्ने युवा शक्ति देशमा भएको भन्दै प्रधानमन्त्री ओलीले दृष्टिकोण र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता भने चाहिएको बताए। ‘दुई ढुंगाबीचमा हामी छौं भने फैलिन नपाउँला तर यसलाई समृद्ध बनाए पुग्छ,’ प्रधानमन्त्री ओलीले भने। छिमेकी देशसँग संतुलन राखिएको उनले बताए। ‘सूर्य, पृथ्वी र चन्द्रमा संतुलनमै घुमिरहेको छ,’ उनले भने, ‘दुनियाँ संतुलनका साथ चलिरहेको छ। दुई छिमेकीसँग संतुलन सम्बन्ध राख्छौं।’


