‘राजविराजमा एमाले नेताको सुनियोजित हत्या प्रयास’

२५ फाल्गुन २०७३, बुधबार ०९:३९

काठमाडौः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भूमिकाप्रति आशंका व्यक्त गर्दै प्रमुख विपक्षी एमालेले सप्तरीको राजविराजमा आफ्ना पार्टीका शीर्ष नेताको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको आरोप लगाएको छ ।
राजविराजमा एमालेको सभा बिथोल्न प्रदर्शनमा उत्रेका मोर्चाका तीन कार्यकर्ताको प्रहरी झडपमा निधनपछि मेची-काली अभियान स्थगित गरेर राजधानीमा फर्केका एमाले नेताहरूले मंगलबार पार्टी कार्यालयमा पत्रकारसम्मेलन गरी त्यस्तो आरोप लगाएका हुन् ।
‘राजविराजमा सभा सम्पन्न भएर पार्टीका नेता र कार्यकर्ता राजमार्गतर्फ प्रस्थान गर्न लाग्दा घेरा हाली आक्रमण गरेर नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास गरियो’, महासचिव ईश्वर पोखरेलले भने, ‘नेपालको कुनै पनि भागमा कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्र्ण रूपमा सभासम्मेलन गर्न पाउने नैसर्गिक अधिकारमाथिको निकृष्ट हमला हो यो ।’

एमालेको अभियान रोक्न मधेसी मोर्चाले लाठी र घरेलु हातहतियारसहित प्रदर्शन थालेपछि एमालेले सम्भावित दुर्घटना रोक्न अभियानको रुट र कार्यक्रम स्थल परिवर्तन गरेको तर त्यसपछि पनि मोर्चाका नाममा हिंसात्मक गतिविधि गरिएको आरोप पोखरेलले लगाए ।
‘स्थिति सामान्य होस् भन्ने आशयका साथ हामीले पूर्वनिर्धारित राजविराजको रंगशालामा सभा गर्ने र राजविराज प्रवेश गर्ने बाटोसमेत परिवर्तन गरेका थियौं । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा शान्तिपूर्ण सभा भइरहेको समयमा मधेसी मोर्चा सम्बद्ध मानिसले बाहिरबाट ढुंगा हान्ने, गालीगलौज गर्ने, अमर्यादित नाराबाजी गर्ने, सुरक्षाकर्मीमाथि ढुंगा, लाठी र पेट्रोल बम प्रहार गर्नेजस्ता आततायी कार्य गरे’, पोखरेलले भने, ‘राजविराज घटना मधेसी मोर्चासम्बद्ध मानिसको जघन्य आपराधिक प्रवृत्ति र कामको कारणबाट भएकाले यसबाट उत्पन्न सम्पूर्ण परिणामको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ ।’

राजविराज घटनाको यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न एमालेले सरकार र राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरेको छ । एमालेको अभियानका विषयमा उपप्रधान तथा गृहमन्त्री निधिले दिएका अभिव्यक्ति र सप्तरी घटनापछि त्यहाँ तैनाथ सुरक्षा अधिकारीलाई फिर्ता बोलाउने निर्णयले गृहमन्त्रीको भूमिका शंकास्पद भएको महासचिव पोखरेलले बताए ।

‘सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई फिर्ता बोलाउने गृहप्रशासनको निर्णयले अझ आशंका बढाएको छ’, महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वगृहमन्त्री रहेका एमाले उपाध्यक्ष भीम रावलले सप्तरीमा हिंसात्मक घटना हुनुअघि त्यसबारे राज्यलाई जानकारी हुनुपर्ने भन्दै गृहमन्त्रीको भूमिकाप्रति शंका व्यक्त गरे । ‘मञ्चमा बसेका एमालेका शीर्ष नेताहरूको हत्या गर्ने गरी कोही पेट्रोल बम, भाला र लाठी लिएर आउँछ भने त्यसलाई निस्तेज पार्न प्रहरीले गोली चलाउनु सामान्य हो’, रावलले भने, ‘गैरजिम्मेवार एवं उत्तेजक अभिव्यक्ति दिने र यस्तो घटना गराउने गृहमन्त्रीले जिम्मा लिनुपर्छ ।’

फागुन २१ गते झापाको काँकडभिट्टाबाट अभियान सुरु भएकै दिनबाट मोर्चाले राजविराजमा एमाले कार्यकर्तामाथि आक्रमण गर्ने, तुल-ब्यानर च्यात्ने, सामान लुट्नेजस्ता क्रियाकलाप गरेको एमालेको आरोप छ । एमालेले फागुन २७ गते हेटौंडाबाट अभियान सुरु गर्ने जानकारी प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिए । अन्नपुर्ण पाेष्टबाट

Next Post

जाजरकोट बस दुर्घटनामा मृतकको संख्या २६ पुग्यो

२५ फाल्गुन २०७३, बुधबार ०९:३९
जाजरकोट : जाजरकोट सदरमुकाम खलंगाबाट जिल्लाकै साल्म गाविसको खाराको लागी छुटेको ना ३ ख २२७९ नंबरको यात्रुबाहक बस छिन्चु-जाजरकोट सडक खण्डको बोहरा गाँउ नजिकै दुघर्टनामा पर्दा २६ जनाको मृत्यु भएको छ। घटनामा ३६ जना घाइते भएको प्रहरीले जनाएको छ। घटनास्थलमा १५ जना र उपचारको क्रममा ९ जना र चौरजहारी लैजादै […]

You May Like