सुर्खेत – विरेन्द्रनगरमा सिटी बसपार्क सुचारु नहुँदा गाडी पार्किङ्गमा समस्या भएको छ । काम सम्पन्न भएको करिव दुई महिना हुदा पनि बसपार्क अहिलेसम्म शुरु नभएपछि पार्किङमा समस्या आएको हो । पहिलेको कामचलाउ बसपार्क हुदाँ गाडी पार्किङमा भने, जेनतेन चलेको थियो । २०५४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित नेतृत्वको कार्यकालपछि सिटी बसपार्कको चर्चा शुरू भएको हो । तर, अहिले ठेकेदार कम्पनीले बसपार्क निर्माण कार्य सम्पन्न गर्न सकेको छैन् ।
बसपार्क नहुँदा गाडी पार्किङमा असुविधा भएको हिल्सा पव्लिक यातायात प्रालीका कर्मचारी मानबहादुर चुनाराले बताए । हाल मंगलगडी चोक नजिककै रहेको सार्वजनिक जग्गामा यातायातका काउन्टर खचाखच भरिएका छन् । गाडी पार्किङ गर्नको लागि ठाउँ नभएकाले सडकको किनारामा सवारी साधन राख्नु पर्ने वाध्यता भएको छ । कर्णाली प्रदेशको राजधनी जस्तो ठाउँमा पनि यस्तो समस्या आउनु भनेको दुःखको कुरा भएकोे यात्रुले बताएका छन् । बसपार्कमा गाडीसँगै ठोकिएर चढ्नुपर्ने बाध्यता भएको कालिकोटकी निर्मला शाहीले बताइन् ।
प्रदेश राजधानीकै मुटु मानिने ठाउँमा यस्तो हालत भएपछि अरु ठाउँमा कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । बीच सडकमै रोकिएका सवारी साधनका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । राजधानीमा रहेको वीरेन्द्रनगरमा सवारी पार्किङ्ग मुख्य चुनौती बनेको छ । व्यवस्थित पार्किङ्गस्थलको अभाममा बीच बजार र सडकमै सवारी पार्किङ्ग हुने गरेका छन् । मुख्यबजार क्षेत्रमा सर्वसाधारणको भीडभाड बढी हुने गरेको छ । सवारीको चाप बढ्दै गएको र पैदल यात्रुलाईसमेत हिँड्न समस्या भएपछि दुर्घटनाको जोखिम बढ्दै गएको छ । ट्राफिक प्रहरीलाई पनि यात्रु र स्थानीयलाई सडक साँघुरो हुँदा सुरक्षा दिन चुनौती देखिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक नरेन्द्रबहादुर सिँहले सुनाए । गाडी पार्किङ नहुँदा गाडि चालकले सडकमै पार्किङ्ग गर्ने बाध्यता रहेको छ । सकडका गाडी तैनाथ गर्दा ट्राफिक प्रहरीले पनि हैरानी गर्ने गरेको छ । बस व्यवसायीहरु दोहोर मारमा परेका छन् ।
गाडी राख्नको लागि कुनै ठाउँ नभएपछि सडकमै पार्किङ्ग गर्ने अवस्था आएको गाडीचालक महेन्द्रबहादुर खड्काले दुखेसो गरे । टिकट काउन्टरले भरिएको ठाउँमा गाडी राख्न र यात्रुलाई निकैै समस्या भोग्नु परेको पाईन्छ । काउन्टर अगाडि गाडी राख्दा एक अर्काे समितिको विवाद भइरहन्छ । वर्षातको समयमा बसपार्क कालोपत्रे गर्दा पिच उप्किने भएपछि भदौ अन्तिम साता कालोपत्रे गरेर बस पार्क सञ्चालनमा ल्याइने वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ ।
बसपार्क निर्माणका लागि चाङ्गमीला नरसिंह जेभी कम्पनीसँग ६ करोड ८३ लाखमा वीरेन्द्रनगर नगरपालिकासंग सम्झौता भएको थियो ।
बसपार्कलाई व्यवस्थान गर्न बसपार्क क्षेत्रमा करिव ५४ अस्थायी पसल सञ्चालन हुनेछन् । बसपार्क भित्र यात्रुहरुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट रहनेछन् । निर्माणधिन बसपार्कमा ९० साना ठुला बस अट्ने क्षमता रहेको छ ।