महोत्तरी : भारतले दसगजा क्षेत्रको भूभाग मिचेर महोत्तरीको सीमावर्ती नाका मटिहानीसँगै जोडिएको मधवापुरमा पक्की सडक र नाला निर्माण गरेको छ।
सशस्त्र प्रहरीको मटिहानीस्थित बीओपीले दसगजा मिचेर भारतीय पक्षले पक्की (पिच) सडक र नाला निर्माण गर्न लागेको जानकारी पाएलगत्तै पुस २३ गते निर्माण रोक्न लगाएको थियो। तर भातरतीय बजार मधवापुरका स्थानीय र एसएसबीले बलजफ्ती दसगजा मिचेर काम रोकिएको तीन साता नबित्दै सडक र नाला निर्माण कार्य पूरा गरेका छन्।
दसगजाभन्दा ३० मिटरवारि र पारि कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले उक्त सम्झौतालाई लत्याउँदै दसगजा मिचेर सडक र नाला निर्माण गर्नु गलत भएको स्थानीयको भनाइ छ।
भारतीय पक्षले सन् २००८ तिर नेपालतर्फको मटिहानी वडा नं. ८ र भारततर्फको मधवापुरलाई छुट्याउन गाडिएको २९४ नम्बर पिलरनजिकको भूभागमा दसगजा मिचेर पहिल्यैदेखि त्यहाँ सडक निर्माण गरेको थियो। त्यही सडकलाई आधार मानेर फेरि पनि पक्की सडक र नाला निर्माण गर्न लागेपछि सशस्त्र प्रहरीले जलेश्वर नापी कार्यालयबाट अमिन बोलाएर नाप नक्सा गर्दा दसगजा मिचिएको प्रमाणित भएको थियो।
अमिनको नापनक्साअनुसार भारतीय पक्षले ७.३१ मिटर दसगजा मिचेर संरचना निर्माण गर्न लागिएको थियो। नेपालतर्फको मटिहानी र मधवापुरमा पहिलेदेखि सीमा विवाद भइराख्ने ठाउँ हो। त्यहाँ दुवैतर्फ निर्माण भएका निजी र सरकारी भौतिक संरचनाले सीमा छुट्ट्याउनसमेत गाह्रो पर्ने स्थिति छ। अन्नपुर्णबाट